काठमाडौं, २० असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा परेका बस्तीका प्रभावित जनालाई सुरक्षितस्थानमा छिटोभन्दा छिटो सार्न माग गरेको छ ।
संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अनिता देवकोटाले उच्च जोखिममा रहेका गाउँबस्तीहरूको पहिचान गरेर जनतालाई सुरक्षितस्थानमा सार्न माग गर्नुभएको हो । ‘अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थान उच्च जोखिममा परेका छन्’, उहाँले भन्नुभयो, ‘समयमै ती स्थानहरूमा रहेका सर्वसाधारणको उद्दार गरिनुपर्छ ।’
कांग्रेस सांसद देवकोटाले सरकारले कृषकलाई रासायनिक मल दिन नसकेको भन्दै विशेष ध्यानाकर्षण भएको जनाउनु भयो । ‘मुलुकभरि धमाधम रोपाइँ सुरू भइसकेको छ’, उहाँले भन्नुभयो, ‘छिटोभन्दा छिटो रासायनिक मल उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्छ ।’
दाङ जिल्लामा ३५ जना महिला बलात्कृत भएको बताउनु भएकी सांसद देवकोटाले भन्नुभयो, ‘महिला हिंसाका पीडितले उजुरी दिँदा पनि दोषीलाई कारबाही हुन सकेको छैन । यो मुलुकमा सरकार छ कि छैन ?’
मुलुकका संवैधानिक निकायमा महिलाहरू प्रमुख रहे पनि त्यसकोअनुभूति गर्न नसकिएको कांग्रेस सांसद देवकोटाको भनाइ थियो ।
कांग्रेसका सांसद अमरसिंह पुनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष सकिनै लाग्दा कर्मचारी र मन्त्रीहरू मिलेर धमाधम कामै नगरी कागजी रुपमा काम गरेको देखाएर भ्रष्टाचार गरिँदैछ । यस्तो कार्यले मुलुकको विकास हुँदैन ।’












प्रतिक्रिया