१० कार्तिक २०८३, मंगलबार

प्रचण्डको ब्रिफिङ : ओलीजीले छलकपट गर्नुभयो

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchanda-1काठमाडौं, १९ असार । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ ।

यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो । बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो ।

एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । सरकारको विकल्पबारे खुला हुने निर्णय पनि उसले गरेको छ ।

‘एमालेसँगको नौबुँदे सहमति लागू भएन, प्रधानमन्त्री उदासीन देखिनुभयो । केही कानुनी प्रक्रिया अघि बढाउन खोजिएजस्तो देखिए पनि मूल स्पिरिटमा काम भएन,’ माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भने, ‘इमानदारीपूर्वक काम नभएपछि हामी सरकारका विषयमा आजबाट थप छलफल गर्न खुला भएर आएका हौँ ।’ सरकार परिवर्तनका विषयमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीजीले छलकपट गर्नुभयो

एमालेसँग वामपन्थीहरूको सरकार बनाउने, लामो समयसम्म सहकार्य गरेर जाने उद्देश्यका साथ दुवै पार्टीका शीर्ष नेताको टिम नै बसेर निष्कर्षमा पुगेका थियौँ ।

शान्तिप्रक्रियाका मुद्दा, संविधान कार्यान्वयनलगायतका विषयमा केन्द्रित रहेर साझा अवधारणासहित सत्तागठबन्धन बनाएका हौँं । तर, उसले सहमति कार्यान्वयन गरेन । फेरि वैशाखमा नौबुँदे लिखित सहमति ग-यौँ । त्यसैवेला दुई पार्टीबीच तीनबुँदे भद्र सहमति पनि भएको थियो । त्यो सहमतिमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म ओलीजी प्रधानमन्त्री हुने र त्यसपछि हामीलाई सत्ता हस्तान्तरण गर्ने कुरा थियो । तर, अहिले ती केही पनि कार्यान्वयन भएनन् ।

प्रधानमन्त्री ओलीसँग मैले शुक्रबार पनि यस विषयमा कुराकानी गरेँ । हामीसँग भएको लिखित र भद्र सहमति पालना नभएकोमा निकै गम्भीर भएर विषय राखेँ । तर, ओलीले अहिले आएर तीनबुँदे भद्र सहमति थाहै नभएको बताउनुभयो । ‘मलाई थाहै छैन, कुन सहमतिको कुरा गरेको रु कहाँ भएको थियो त्यस्तो सहमति’ भनेर उहाँ प्रस्तुत हुनुभयो । यो सीधै छलकपट भयो ।

त्यसले हामीलाई नैतिक प्रश्न उठ्यो, गाह्रो भयो । अब प्रक्रिया सुरु गरौँ, सकभर राष्ट्रिय सहमतिमा जोड दिऔँ, भएन भने, सहमतिअनुसार एमालेसँगै छलफल गरी सरकार हस्तान्तरण गर्ने दिशामा जाऔँ । त्यो पनि भएन भने नयाँ कोर्सबाट मुद्दा मिल्नेसँग सहकार्य गरेर अगाडि बढौँ ।

१. सहमतिअनुसार नेतृत्व फेरबदल

२३ वैशाखमा भएको नौबुँदे लिखित र तीनबुँदे भद्र सहमतिअनुसार एमालेले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने माओवादी केन्द्रको भनाइ छ । एमालेले नै मागेको १५ असारसम्मको समय सकिएको उसको तर्क छ । ‘एमालेले सहमति कार्यान्वयन गर्छ–गर्दैन, हेर्ने बाँकी छ,’ प्रवक्ता पम्फा भुसालले भनिन् ।

२. राष्ट्रिय सहमतिको सरकार गठन

माओवादीले संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको छ । नौबुँदे सहमतिमा पनि यो विषय उल्लेख छ । राष्ट्रिय सरकार बन्ने अवस्थामा नेतृत्वबारे खुला रहने र पहलकदमी लिने उसको निष्कर्ष छ ।

३ .मुद्दा मिल्नेसँग मिलेर नयाँ सरकार

दुई विकल्प नभए शान्तिप्रक्रिया र संविधान कार्यान्वयनका आफ्ना मुद्दा जोसँग मिल्छ उसैसँग मिलेर सरकार निर्माण गर्ने निष्कर्ष माओवादीको छ । कसको नेतृत्वमा त्यस्तो सरकार बनाउने भन्ने विषयमा नयाँ कोर्सबाट छलफल हुने नेताहरूले बताएका छन् ।