काठमाडौं, १८ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस् ।’
मन्त्री पाण्डेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मुलुकको इतिहासमै ऐतिहासिक काम गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तो उत्कृष्ट बजेट नेपालको इतिहासमै कहिल्यै आएको थिएन । पुनर्निर्माणको सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभीमान जोगाउने काम गरेको छ, पारवहन सुविधाको थप खोजी गरेको छ ।’
मन्त्री पाण्डेले आन्दोलनकारीसँगको वार्ताका विषयमा भन्नुभयो, ‘मधेसी मोर्चा र संघीय गठबन्धनवीच नै अन्यौल छ । कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ तर मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्ने विषयमा हामी सहमत छैनौँ ।’
केपी ओली सरकार निर्विकल्प होइन
कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दावी गर्नुभएको छ । उहाँले कांग्रेसले सरकरा बनाएको खण्डनमा संविधान कार्यान्वयन गर्ने गरी सबै राजनीतिक दलहरूलाई मिलाएर लैजाने बताउनुभयो ।
उहाँले वर्तमान सरकार राष्ट्रिय एजेण्डा कार्यन्वयन गर्ने सवालमा असफल भएको अवस्थामा वेटिङ सरकारको रुपमा प्रमुख प्रतिपक्षी कांग्रेस रहेको बताउनुभयो । उहाँले ओली सरकार असफल भए कांग्रेसले नयाँ सरकार निर्माण गर्ने बताउनुभयो ।
नेता लेखकले कांग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने पक्षमा रहेको भन्दै मुलुकको एजेण्डा संविधानलाई सर्वस्वीकार्य बनाउने, संविधानको कार्यान्वयन र आर्थिक समृद्धिको लागि कांग्रेस सधैँ तयार रहेको बताउनुभयो ।
सरकारको काम सन्तोषजनक छैन
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शम्शेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले मुलुकको समस्या समाधानको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै राजनीतिक दलहरूलाई सर्वस्वीकार्य हुने गरी संशोधनको मार्फतबाट अघि सरकार समस्या समाधानमा अघि बढ्नु पर्छ । पश्चिम मधेसबाट पहाडी क्षेत्र हटाए सीमांकनमा कुरा मिल्छ । सरकारले आफूलाई समस्या समाधानमा तीब्र रुपमा अघि बढाउनु पर्छ ।’












प्रतिक्रिया