९ कार्तिक २०८३, सोमबार

पूर्वमाओवादी भर्सेस गैरमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai-newsकाठमाडौं, १८ असार । अब पनि आफूलाई माओवादीकै बिल्ला भिराएर अरूले बहस गरेको सायद बाबुराम भट्टराईलाई मन पर्दैन । इतिहासको भूतले सबैभन्दा बढी राजनेताहरूलाई लखेट्छ । कम्युनिस्ट घोषणापत्रको पहिलो वाक्यमा लेखिएको छ, ‘आज युरोपलाई एउटा भूतले सताइरहेको छ– त्यो हो साम्यवादको भूत ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भट्टराईले ‘रातो स्टिकर टाँसेको पुरानो घर’ छाडेको नौ महिना बितिसक्यो । ‘साम्यवादको भूत’ मन्साउँदै वाम–लोकतान्त्रिक ‘नयाँ शक्ति नेपाल’ घोषणा गर्दा उनको आत्मविश्वास पहिलेभन्दा बढेको बिहीबार केही सञ्चारकर्मीसँग उनी र अरू नेताको प्रस्तुतिबाट लख काट्न सकिन्थ्यो । इतिहासबाट निस्केर हिँडे पनि यसबीच नयाँ शक्तिलाई माओवादी प्रेतले भने खुब सताएको देखिन्छ । दुई साताअघि पार्टी घोषणासभाको समापनमा उनले ‘नयाँ शक्ति’ भन्नुपर्नेमा झुक्किएर ‘माओवादी पार्टी’ भन्दा दर्शकदीर्घा गलल्ल हाँस्यो । भट्टराईलाई सम्हालिन एकछिन लाग्यो ।

नयाँ शक्ति बनाउने प्रक्रियामा ढुक्क भएर लाग्न पाएका छैनन्, उनी र दोस्रो तप्कामा पूर्वमाओवादी नेताहरू । दसवर्षे सशस्त्र युद्धप्रति जवाफदेही बन्नु परिरहेको छ, घटनावली हेर्दा पछिसम्मै जवाफ दिइरहनुपर्ने देखिन्छ । ‘भेट्दिनँ’ भन्दा पनि उही युद्धकालीन मुद्दालाई लिएर पुष्पकमल दाहाल, मोहन वैद्य, रामबहादुर थापासँग नियमितजसो उठबस चलिरहेको हुन्छ ।

सञ्चारमाध्यमदेखि जिल्लास्तरीय भेटघाटका क्रममा भट्टराई र नयाँ शक्तिका नेतालाई सोधिने अधिकांश प्रश्न विगतको माओवादीसँग जोडिन्छ । युद्धकालीन निर्णयप्रति नेतृत्व पंक्तिको मुख्य सदस्यका नाताले क्षमा माग्नुपर्ने सन्दर्भ पनि यदाकदा उठ्ने गर्छन् । भट्टराई कुनै खराब सपनाझैं त्यसलाई बिर्सन चाहन्छन् । समृद्धि र विकासको बाटोमा हिँड्ने उनको ‘बडी ल्याङेज’ बाट त्यही झल्किन्छ । ‘बाबुरामजी वामपन्थ र दक्षिणपन्थ दुवैको बीचबाट हिँड्न खोज्नुभएको छ, जुन सम्भव नै छैन,’ उनको राजनीतिक यात्रालाई नियाल्दै आएका विश्लेषक झलक सुवेदी भन्छन्, ‘उहाँ अहिलेको संरचना बदल्न होइन, यही संस्थापनभित्र ठाउँ बनाउन खोजिरहनुभएको छ ।’

सुवेदीले यसो भने पनि प्रश्न त स्वयं माओवादीमाथि गर्न सकिन्छ, अनि उसले चाहिँ कहाँनेर ठाउँ बनाउन खोजिरहेको छ रु भट्टराई भने माओवादी पहलमा भएको युद्धबाट संविधानसभा हुँदै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व वैधानिक रूपमा स्थापित भएकाले अब नयाँ चरण सुरु भएको जिकिर गर्छन् । नयाँ समयका प्रश्नहरूको उत्तर पुरानो माओवादीले दिन नसक्ने भन्दै उनी त्यहाँबाट आउने निर्णय गरे, संविधान बनेलगत्तै ।

पूर्वमाओवादी भर्सेस गैरमाओवादी

नयाँ शक्तिभित्र भट्टराईका लागि एकातिर माओवादीबाट आएका ती नेता कार्यकर्ता राजनीतिक पुँजी बन्न पुगेका छन् । अर्कातिर गैरराजनीतिक पृष्ठभूमिका कर्मचारी, प्रहरी अनि माओवादी कार्यकर्ताबीच सामान्जस्य मिलाउन उनलाई धौधौ पनि परिरहेकै देखिन्छ । नयाँ शक्तिका एक नेता भन्छन्, ‘हाम्रोमा बेस भ्यालु (सांगठानिक आधार) र फेस भ्यालु (पूर्वकर्मचारी, प्रहरी, सेलिब्रिटी) बीच सन्तुलन मिलाउन अलिकति समय लाग्ने पार्टी स्थापना भेलाका क्रममा प्रस्टै देखियो ।’

भट्टराईसँग लामो संगत गरेका नेताको भनाइमा उनीसँग प्राज्ञिक पृष्ठभूमि भए पनि तलदेखि माथिसम्मै संगठन बनाएर देखाउने क्षमता छैन । ‘उहाँमा नभए पनि उहाँले टिपेका नेताहरूमा हुनुपथ्र्यो । उहाँले लिएका मानिस पनि त्यसरी खट्ने खालका छैनन्,’ ती नेता भन्छन् ।

नेतृत्वमा उदाउन सांगठानिक कुशलता पहिलो सर्त हुने गर्छ । भूराजनीतिक आयाममा खेल्न सक्ने क्षमता दोस्रो विशेषता मानिन्छ, नेपालजस्तो देशमा । भट्टराई दोस्रोमा खरो उत्रन सक्ने हुन् कि भन्ने डर माओवादी नेताहरूले पालेर बसेका छन् । तर विश्लेषक झलक सुवेदी भने भूराजनीतिक आडमा मात्रै स्थापित हुन कठिन रहेको औंल्याउँछन् । पहिचानको राजनीति पनि कालान्तरमा स्थापित हुन नसक्दा भट्टराईलाई कठिन रहेको, केवल समृद्धिको नाराले मात्रै आम मानिसलाई आकर्षित गर्न नसकिने उनको भनाइ छ ।

वैज्ञानिक साम्यवादमा विश्वास गर्ने माओवादीभन्दा भिन्न देखिन यसबीच भट्टराईले गरेका यत्न रोचक छन् । भट्टराईले पूर्वीय दर्शनका योग प्राणायाम ध्यानलाई समेत आफ्नो अन्तरिम विधानमा समावेश गरेको बिहीबार खुलाए । ‘हामीले पश्चिमा ज्ञानविज्ञान अपनाउँदै जाँदा कताकति पूर्वीय ज्ञान परम्परा छाडदै गयौं, वास्तवमा त्यो झन् महत्त्वपूर्ण छ,’ भट्टराईले भने, ‘हामी ती ज्ञानलाई फेरि अगाडि बढाउन चाहन्छौं ।’ संगठन निर्माण, सञ्चालन, नेतृत्व चुन्ने विधिजस्ता विषयमा उनी विलकुलै नयाँ शैली अपनाउने कोसिसमा छन् ।

भट्टराईसँग लामो संगत गरेका एक माओवादी नेताको भनाइमा उनले विकासवादी बुर्जुवा पार्टी बनाउन खोजेका छन्, जुन सफल हुने सम्भावना कम छ । ‘उदार लोकतान्त्रिक मान्यतामा हिँड्नुभएको छ, धनी र गरिबबीच खाडल कम गर्ने उपाय उहाँसँग छैन,’ ती नेताले भने, ‘राष्ट्रिय पुँजीको विकास गर्ने बेलामा भारतीय एकाधिकारी पुँजीसित सहकार्य गर्ने उहाँको रणनीति देखिन्छ, दलाल पुँजीवादलाई खत्तम गर्नुपर्नेमा त्यसैलाई कायम राख्ने उहाँको मनसाय रहेको पाइयो ।’

विश्लेषक सुवेदी भन्छन्, ‘बाबुराम विकल्प भए पनि कांग्रेस, एमालेका होलान् । नयाँ शक्तिले लक्षित गर्न खोजेको जनाधार उनीहरूकै हो । माओवादीको लक्षित समुदाय अर्कै भएकाले उसलाई चुनौती दिन सक्ने नयाँ शक्तिको अवस्था अहिलेसम्म बनेको देखिँदैन ।’

आज भट्टराई माओवादीमा छैनन् । तर नेतृत्वमा सैद्धान्तिक दिशाहीनता देखिएका बेला माओवादी बैठकहरूमा उनको खोजी हुने गर्छ । दाहालले त भट्टराई एक दिन फेरि फर्कनेसमेत बेलाबखत निकटस्थहरूसित भन्ने गरेका छन् । भट्टराई भने त्यो कल्पना सिवाय केही नभएको दाबी गर्छन् । के नयाँ शक्तिका यी अभियन्तालाई फेरि माओवादको भूतले सताउला ?