काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछाडि परेका जाति तथा समुदायले आफ्नो अधिकारका लागि आवाज उठाउनुलाई अन्यथा लिन नहुने बताउनुभएको छ ।
सहिद दशरथ चन्दको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेता देउवाले अधिकारका लागि उनीहरुले आवाज उठाउँदा राष्ट्रलाई अप्ठ्यारो पर्ने बहनामा दबाउन नहुने बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “सबैलाई समानता दिने गरी नयाँ संविधान बनेको छ, त्यो नयाँ संविधान कार्यान्वयन भएपछि मात्रै नेपाल भेदभाव र असमानतारहित हुनेछ । त्यसैले संविधान कार्यान्वयन गर्नेतर्फ लागौँ ।”
वाणिज्यमन्त्री जयन्त चन्दले चार सहिदको जन्मजयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने बताउनुभयो । काँग्रेसका नेता एनपी साउदले सहिद दशरथ चन्द सुदूरपश्चिमेलीका लागि गौरव र प्रेरणाको स्रोत हुन् भन्नुभयो ।
सांसद ज्ञानु गैह्रेले तत्कालीन समयमा चन्दले निरङ्कुश शासकसँग नझुके झैँ अहिलेको सरकार पनि राष्ट्रियताका सवालमा कसैसँग नझुकेकाले सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । इतिहासविद् डा सुरेन्द्र केसीले अहिले सहिदको मूल्य सस्तो भएको र दुरुपयोग भएको टिप्पणी गर्नुभयो ।
बैतडीमा जन्मनुभएका चन्दलाई निरङ्कुश राणा शासनका विरुद्धमा आवाज उठाउँदा विसं १९९७ माघ १४ गते काठमाडौँको शोभा भगवतीमा तत्कालीन राणाशासनले गोली हानी हत्या गरेको थियो । रासस













प्रतिक्रिया