२६ कार्तिक २०८३, बिहिबार

घाइते विद्यार्थी भेट्न शिक्षामन्त्री अस्पतालमा, घटनाको छानबिन गर्न निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girirajmani-pokheral-Education Minister
अस्पतालमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल ।

काठमाडौँ, १७ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ललितपुरको टौखेलस्थित पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु र केही घाइते भएको घटनाको तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।

घटनास्थल अवलोकन र अस्पतालमा उपचाररत घाइते विद्यार्थीको अवस्था बुझेपछि मन्त्री पोखरेलले अस्पतालबाटै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई टेलिफोन गरी सो निर्देशन दिनुभएको हो ।

ललितपुरको टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुल नजिकै रहेको पर्खाल भत्किँदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो । घाइते २६ मध्ये चारको अवस्था गम्भीर छ ।

घाइते विद्यार्थीलाई पाटन अस्पताल र बिएन्डबी अस्पतालमा उपचार गराइएको छ । साँझ ती अस्पताल पुग्नुभएका मन्त्री पोखरेलले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

मन्त्री पोखरेलले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि फोन गरी घटनालाई गम्भीरतापूर्वक हेरिदिन आग्रह गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिनुभयो ।

अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल भत्किएर बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो । रासस