काठमाडौं, १६ असार । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय निकायको निर्वाचन गर्न सबैभन्दा पहिले स्थानीय निकायहरुको संविधानमा व्यवस्था भएबमोजिम पुनःसंरचना गर्न सरकारलाई सुझाव दिएका छन् ।
विहीबार सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा उनले स्थानीय निकायहरुको पुनःसंरचना भइसकेपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल सहभागी हुने पनि स्पष्ट पारे । तराई–मधेश, थारुवान क्षेत्र, आदिवासी जनजातिहरुको राज्य पुनःसंरचनामा रहेको असन्तुष्टिलाई सम्बोधन पनि तत्कालै गर्नुपर्नेमा पनि उनले जोड दिए ।
संविधानले परिकल्पना गरेको तीन तहः केन्द्र, प्रदेश र स्थानीय अनुसार अहिलेका गाविस र नगरपालिकाहरुको पुनःसंरचना, प्रदेशहरुको सीमांकन, निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने र संविधानबमोजिम बनेका निकायहरुको निर्वाचन हुनुपर्ने उनको भनाई छ । त्यसरी हुने स्थानीय, प्रदेश र संसद्को निर्वाचनमा सहभागी हुनका लागि आवश्यक रणनीति, कार्यक्रम, अभियान सञ्चालन गर्नका लागि नयाँ शक्ति नेपालले संसदीय मामिला विभाग नै निर्माण गरेको बताए ।
छलफलका क्रममा बाबुरामले नयाँ शक्ति नेपालको अन्तरिम विधानका प्रावधान र संगठनात्मक सिद्धान्तको व्याख्या गरेका थिए ।













प्रतिक्रिया