काठमाडौं, १६ असार । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीवीच भएको नौ बुँदे सहमति कार्यान्वयन हुनु पर्ने बताउनुभएको छ । उहाँले सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने चेतावनी दिनुभयो ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन । संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु । त्यो पारित हुन्छ हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुँन दिँदैनौँ । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नुपर्छ ।’
शर्माले भूकम्पपछिको पुनर्निर्माण, संविधानप्रति असन्तुष्टहरूको माग संबोधान गर्न, संविधान कार्यान्वयन र निर्वाचनको लागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस पनि सहमतिको सरकारमा आउने बातावरण बन्दैछ । हामीले कांग्रेस र एमालेसँग छलफल गरिरहेका छौँ । प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठीक छ, कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठीक छ, होइन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौँ ।’
माओवादी केन्द्रका नेता शर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दावी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो ।
नौ बुँदे सहमति कार्यान्वयन नगरे एमालेसँगको सम्बन्ध पनि टुट्ने चेतावनी दिँदै शर्माले सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोँच्नु उचित नभएको दावी गर्नुभयो ।












प्रतिक्रिया