काठमाडौं, १५ असार । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानको लागि वार्ता पनि उसैसँग गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै वार्ता गर्नु पर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान निस्कदैन ।’
उहाँले आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सबैसँग वार्ता गरे मुलुकले निकास पाउने बताउनुभयो । ‘मोर्चासँग वार्ता गरेर समस्याको समाधान हुँदैन’, यादवले भन्नुभयो, ‘यदि सरकारले वार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै वार्ता गरेर निकास निकाल्नुपर्छ ।’
यादवले गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको दावी गर्दै मोर्चाका घटकका कार्यकर्ताहरू अनसनमा सहभागी भइरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर किन सहभागी नभएको भन्ने विषय उहाँहरूलाई नै सोध्न सुझाव दिनुभयो ।
उहाँले गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नु पर्ने धारणा राख्नुभयो ।
उहाँले आफूले भन्ने गरेको पुनर्लेखन र संशोधन फरक विषय नभएको बताउनुभयो । यादवले संविधान संशोधन समस्या समाधानको प्रक्रिया र पुनर्लेखन परिणाम भएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संशोधनको प्रक्रियाबाट असहमति रहेका संविधानका धारालाई पुनर्लेखन गर्ने हो । संविधानका गलत प्रावधान सच्याउनै पर्छ । पुनर्लेखन नगरी समस्या समाधान नै हुँदैन, मुलुकले निकास पाउँदैन ।’












प्रतिक्रिया