पोखरा, २९ साउन । उद्योग मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापाले डन दिनेश अधिकारी चरीको सुनियोजित रुपमा हत्या भएको दाबी गर्नुभएको छ ।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले संसदमा चरी मुठभेडमा मारिएको जबाफ दिइरहँदा अर्का क्याबिनेट मन्त्री थापाले भने त्यसको खण्डन गर्नुभएको हो । गौतम एमालेका उपाध्यक्ष हुनुहुन्छ भने थापा एमाले केन्द्रीय सदस्य ।
प्रेस चौतारी कास्कीले बिहीबार बिहान पोखरामा गरेको कार्यक्रममा मन्त्री थापाले एमालेकातर्फबाट सरकारमा सहभागी गृहमन्त्री गौतमले मुठभेडमा मारिएको भन्ने भनाइलाई कुनै तथ्यले पुष्टि नगर्ने जिकिर समेत गर्नुभयो ।
“राज्यलाई मान्छे मार्ने अधिकार दिने हो भने कोही पनि सुरक्षित हुदैन,” उहाँले भन्नुभयो, “कानुनविपरित व्यक्तिको हत्या गर्नेलाई कारवाही गर्नुपर्दछ ।”
उद्योग मन्त्री थापाले नियम विपरितका क्रसर उद्योगलाई कुनै पनि हालतमा चल्न नदिने समेत बतउनुभयो । क्रसर उद्योगमा गैरकानुनी लगानी भएको, गण्डागर्दी संचालन गर्ने आधार बनेको र उद्योगको नाममा गिटी, वालुवा भारत निकास भएकोले सरकारले त्यसलाई व्यवस्थित गर्न खोजेको उहाँले बताउनुभयो ।
















प्रतिक्रिया