२६ कार्तिक २०८३, बिहिबार

अष्ट्रेलिया भ्रमण स्थगित गरेका प्रचण्डलाई भेट्न अष्ट्रेलियाली राजदूत लाजिम्पाटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-austrilan-ambessor-lazimpat

काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान लाजिम्पाटमा भेटवार्ता भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार उक्त भेटका क्रममा अष्ट्रेलियन राजदूतले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको विषयमा चाँसो राख्दै मिडियामा आएको जस्तो पक्राउ गर्ने तयारी नगरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराउनुभयो ।

भेटका क्रममा प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफू अवगत रहेको बताउनुभयो । वर्तमान राजनीतिक स्थिती, पार्टी कामको चापका कारणले भ्रमण स्थगित गर्नुपरेको स्पष्ट पार्नुभयो । अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नुपरेको बताउनु भयो । उहाँले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने प्रतिबद्धता पनि राजदूतसमक्ष गर्नुभयो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा उहाँसँग चर्चा गर्नुभएको थियो । नेपालको राजनीतिक विकास प्रक्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाउनुभयो । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताउनुभयो । उहाँले भन्नुभयो ‘यसका निम्ति राजनीतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ, साथै अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।’

राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराउनुभयो ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिनुभएको सचिवालयले जनाएको छ ।