काठमाडौं, २८ साउन । नेकपा एमालेलाई जनजाति विरोधी पार्टीको संज्ञा दिँदै संघीय समाजवादी पार्टी खोलेका विजय सुब्बा लगायतका नेताहरु एमालेमै फर्कने भएका छन् ।
केही दिन अघि संघीय समाजवादी छाडेका सुब्बासहितका नेताहरुले एमालेले बिहीबार पार्टीमा फिर्ता गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा पुनः फर्काउन बिहीबार एमाले मुख्यालय बल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । बिहीबारबाट सुब्बासहित संघीय समाजवादीकी सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ताहरु आफ्नै मूल घर एमालेमा फर्किने एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।
यसअघि एमालेका केन्द्रीय सदस्य रहेका सुब्बालाई एमालेले जारी केन्द्रीय कमिटीबाटै पुनः केन्द्रीय सदस्यमै मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
अध्यक्ष अशोक राईसँगको असमझदारीपछि सुब्बासहितका नेताहरुले संघीय समाजवादी छाडेका थिए । आफूहरुले पहिचानसहितको नयाँ पार्टी खोले पनि अध्यक्ष राईका कारण काम गर्न नसकेको बरु एमालेले नवौं महाधिवेशनबाट पदाधिकारीमा समावेशीता लागू गरेकाले घर फर्कन लागेको सुब्बाको भनाइ छ ।
संघीय समाजवादीकै अर्का उपाध्यक्ष रिजवान अन्सारी पनि एमालेमै फर्कने तयारीमा छन् । अन्सारीलाई पनि फर्काउने प्रयत्न भइरहेको एमालेले जनाएको छ ।
















प्रतिक्रिया