– योगेन्द्र जोगी
संखुवासभा, ११ असार । संखुवासभा जिल्लाको खराङ र चैनपुर केराबारीका किसानले अम्रिसो कुचो बिक्री गरेर प्रतिपरिवारले वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
चार पाँच वर्ष अगाडिसम्म जंगल फाँडेर खोरिया बनाएर मकै रोप्ने गरेका यहाँका बासिन्दा अहिले खोरिया फँडानी छाडेर नाङ्गा डाँडामा
अम्रिसो लगाएर राम्रो आम्दानी गर्न सफल भएका स्थानीय कुमार मगरले बताए ।
भीर पाखा र नाङ्गा डाँडामा दुई दुई वर्षमा अम्रिसो लगाएर यहाँका बासिन्दाले अम्रिसोको कुचो बनाएर सबैभन्दा राम्रो आम्दानी गर्ने गरेका मगरले बताए । यहाँ सडक पुगेको र यहाँका जनताले गाडीमा लोड गरेर कुचो धरान, झापा हुँदै भारतसम्म जाने गरेको खराङका राम कुमार तमाङले बताए ।
यहाँका करिब १५ घरका कृषकले अम्लिसो लगाएका र वर्षेनि १५ लाख बराबरको कुचो यहाँबाट बिक्री हुने गरेको कृषक तामाङले बताए । यहाँका कृषकले जंगल फँडानी गरेर मकै रोप्ने काम बन्द गरेर अम्लिसो खेतीतर्फ आकर्षित हुन थालेपछि उनीहरुको यो खेती जीविकोपार्जनको भरपर्दो माध्यम बनेको छ ।
अम्लिसो लगाएको दुई वर्षसम्म गोडमेल गर्नुपर्ने र मात्र काटेर कुचो बनाउन सकिने कृषकहरुले बताए । कृषकहरुका अनुसार यो प्रत्येक दुई-दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषकहरु वर्षेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेका छन् ।
किसानहरुले अम्लिसो व्यवसायिक रुपमा खेती गर्नसके राम्रो आम्दामीको स्रोतको रुपमा लिन सकिने लेब्राङ सामुदायिक बनका अध्यक्ष मोहन श्रेष्ठले बताए ।













प्रतिक्रिया