– कृष्ण ओझा
पाँचथर, १० असार । नेपाल मानवअधिकार वर्षपुस्तक २०१७ को अर्धवार्षिक पूर्व समिक्षा तथा मानवअधिकारका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार फिदिममा सम्पन्न भएको छ ।
इन्सेक पाँचथरको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले संस्थाले समाजमा देखिएका नयाँ नयाँ समस्याहरुका विषयमा समेत चासो राख्नु पर्ने सुझाव प्रस्तुत गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले राज्यका निकायले आफ्नो जिम्मेवारी निर्वाह गरेकाले जिल्लामा मानवअधिकारको अवस्था सुधारोन्मोख भएको बताए ।
उनले घरवाटै मानवअधिकारको सम्बद्धन गर्न समाजमा देखिने नविन समस्याहरु तर्फ केन्द्रित हुन सुझाव राखेका थिए ।
नेपाली काँग्रसका सचिव रुपनारायण जवेगुले इन्सेकको कार्य पं्रसशनीय रहेको भन्दै नीतिगत समस्याले पछिल्लो अवस्थामा पुरुषहरु समेत पीडित बन्न पुगेको बताए ।
नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारीले इन्सेकको अभिलेखिकरण ऐतिहासिक भएको र अहिले विकासका सवालहरुलाई समेत समावेश गर्नु पर्ने सुझाव राखे ।
यसैगरी, एनेकपा माओवादीका अध्यक्ष होम जवेगुले राज्यले विशेष संरक्षण गरेका वर्ग, समुदाय, लिङ्गको अधिकार सुनिश्चित गर्न सवैले सहयकार्य गर्नु पर्ने बताए । द्धन्द्धकालिन घटनाका सन्दर्भमा राहत पाउन वेपत्ताहरुलाई समेत मृतकको सूचिमा राखिएकाले अप्ठ्यारो सिर्जना भएको उनको गुनासो थियो ।
राप्रपा नेपालका प्रवक्ता प्रयागराज सुवेदीले बालबालिकाहरु अझै पीडित हुने गरेकाले राज्यले विशेष व्यवस्था ल्याउनु पर्ने बताए ।
नेकपा मालेका राष्ट्रिय प्रतिनिधि सदस्य लय बाँस्कोटाले इन्सेकको कार्यको प्रशंसा गर्दै प्रतिवेदनमा सवै घटनाहरु समावेश भएको बताए ।
राप्रपाका अध्यक्ष मानदेव केरुङले जिल्लामा मानवअधिकारको अवस्था सन्तोषजनक रहेको बताए । फोरम लोकतान्त्रिकका नरेन्द्र दुलालले राजनीतिक दलहरुले नै दवाव दिने गरेकाले प्रहरीले स्वतन्त्रापूर्वक काम गर्न नसकेको गुनासो पोखे ।
कार्यक्रममा जिल्ला बार इकाईका टिका तिम्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष लवदेव ढुङगाना, आदिवासी जनजाति महासंघका अध्यक्ष विर्ख बहादुर वाइबा लगायतले सुझाव राखेका थिए ।
कार्यक्रममा इन्सेक पाँचथर प्रतिनिधि मंगल बेघाले वर्ष पुस्तकको प्रतिवेदन र कार्यपत्र प्रस्तुत गरेका थिए ।
हुकोडेक नेपालका कोषाध्यक्ष राम प्रकाश समथिङ्गको अध्यक्षमा सम्पन्न कार्यक्रममा पाँच महिलासहित ३० जनाको सहभागिता रहेको थियो ।













प्रतिक्रिया