
काठमाडौं, ९ असार । देशकै अग्रणी निजी क्षेत्रको दुरसंचार कम्पनी एनसेलको ग्राहक संख्या १ करोड ३४ लाख पुगेको छ ।
नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २ करोड ६८ लाख जिएसएम मोबाइल सेवाका ग्राहक छन् । त्यसमा निजी क्षेत्रको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहक मात्रै १ करोड ३४ लाख रहेका छन् ।
तथ्यांकअनुसार नेपालमा डेटा सेवा प्रयोगकर्ताको संख्या एक करोड २८ लाख रहेको छ । त्यसमध्ये ५२ लाख ८३ हजार ग्राहकले एनसेलको इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।
यो तथ्यांकले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई एनसेलले चुनौति दिइरहेको देखाउँछ । साथै, सस्तो र गुणस्तरीय सेवाका कारण एनसेल छोटो समयमै नेपालमा निकै लोकप्रिय पनि भइरहेको देखिएको छ ।
शुरुका दिनमा डेटा सेवा मुख्यतः शहर केन्द्रित रहेपनि एनसेलले बजारमा प्रतिस्पर्धाको सिर्जना गर्दै थ्रिजी सेवाविस्तार गर्यो र देशमै पहिलोपटक इन्टरनेट सेवामा प्याकको अवधारणा ल्याएको थियो । अहिले एनसेलको मोबाइल डेटा सर्भिस ७५ जिल्लामा पुगिसकेको छ भने थ्रिजी प्रविधिमा आधारित उच्चगतिको डेटा सेवा ६३ जिल्लामा पुगिसकेको कम्पनीले बताउदै आएको छ । थ्रिजी सेवा अन्य बाँकी जिल्लाहरुमा पनि पुर्याउन काम भईरहेको कम्पनीले जनाएको छ ।
एनसेलका अनुसार डेटा प्याकहरु ल्याएपछि ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु लिनसकेका छन् । यसरी प्याकअन्र्तगत डेटा सेवा चलाउँदा ग्राहकले तुलनात्मक रुपमा सस्तो शुल्कमा इन्टरनेट सेवा उपयोग गर्न सक्छन् । कसैका लागि एक हप्ताको लागि ईन्टरनेट चलाउन पर्यो भने उसले ५० एमबिको साप्ताहिक डेटा प्याक रु ३५ मा लिन सक्छ ।
डेटा सेवाअन्र्तगत नै एनसेलले ज्ञानगुणका कुरामा पहुँच बढाउन प्रख्यात अनलाईन लाइबेरी विकिपेडिया र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै ट्विटर आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा चलाउन दिँदै आएको छ ।
डेटा सेवा ग्रामिण तथा दुर्गम जिल्लामा पुगेपछि त्यहाँका जनताहरुले अनलाईन समाचार हेर्ने र ईमेल गर्ने सुविधा पाएका छन् भने फेसबुकजस्ता सामाजिक संजालहरुमा पनि त्यस्ता क्षेत्रका ग्राहकहरुको उपस्थिती एकदम बढेको छ । फेसबुक चलाउन अझ सस्तो होस् भनेर एनसेलले फेसबुक प्याक पनि ल्याएको छ र यो प्याकलिएर ग्राहकले १२ पैसा प्रति एमबिमा फेसबुक चलाउन सक्छन् ।
इन्टरनेटबाट सजिलै अनलाईन भिडियो हेर्न सकिने गरी एनसेलले नै सन् २०१० मा नै ३.६ एमबिप्रति सेकेन्ड सम्मको उच्चगतिको डेटा शुरु गरेको थियोे । नेपालमा यत्तिको डेटा स्पिड पहिलो पटक आएको थियो । यो तथ्य पनि टेलिकमलाई चुनौति दिने र उछन्ने आधार हो ।
सन् २०१० मा नै एनसेलले सगरमाथा आधार शिविरको ५ हजार ३८० मिटरको उचाईमा थ्रिजी सेवा सुचारु गरेको थियो । यसले स्थानिय तथा सगरमाथा आरोहिहरुलाई विश्वकै अग्लो टाँकुराबाट आफ्नो एक्साइटमेन्ट अभिव्यक्त गर्न तथा फोटो शेयर गरि परिवार तथा प्रियजनसँग प्रत्यक्ष खुशी साट्न सम्भव बनाएको थियो । विश्वकै अग्लो स्थानमा थ्रिजी सेवा संचालनले नेपाललाई विश्वभर समाचारमा रहन तथा प्रविधिमा पनि नेपाल अग्रस्थानमा रहेको भन्ने पुष्टि गरेको थियो । यो कार्य एनसेलले पहिलोपटक गरेको बताइन्छ । यहाँ टेलिकम अझै पुग्न नसक्नुले एनसेलले धेरै क्षेत्रमा टेलिकमलाई उछिन्दै गएको मानिन्छ ।
यसैगरी उच्च गतिको डेटा अनुभवलाई थप अभिवृद्धि गर्दै एनसेलले अक्टोबर २०१५ बाट काठमाडौंमा २१ एमबि प्रति सेकेन्डसम्मको उच्चगतिमा ईन्टरनेट सेवा प्रदान गरिरहेको छ । काठमाडौंलगत्तै कम्पनीले सगरमाथा क्षेत्रमा पनि २१ एमबि प्रति सेकेन्डसम्मको उच्चगतिको डेटा सेवा संचालनमा ल्याएको छ र देशको अन्य भागमा पनि यसको विस्तार गर्ने कार्यमा लागेको छ ।
एनसेलले फोरजी सेवा संचालन गर्नका लागि पनि केही वर्ष अघि नै सरकारसंग अनुमति मागको थियो तर, अहिलेसम्म अनुमति पाएको छैन् । छोटो समयमा यी सबै कामहरु गरेर नेपाली जनतालाई सस्तो र गुणस्तरीय सेवा दिने प्रयास गरिरहेको एनसेलको दाबी छ ।















प्रतिक्रिया