धनगढी, ७ असार । आज बिहान भएको वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन् ।
वर्षासँगै पानीको निकास हुन नसक्दा वडा नं १, २, ३, ४, ५ का कतिपय टोलमा दुई-तीन फिटसम्म पानी जमेको छ । वडा नं ३ विशालनगर टोलका छ सात घर डुबानमा पर्दा घरपरिवारलाई आवागमनमा समस्या भएको छ ।

वर्षाको पानीको उचित निकासको व्यवस्था नहुँदा वर्षायाममा उपमहानगरका अधिकांश वडा डुबानमा पर्ने गरेका छन् । वर्षासँगै कैलाली जिविस, जिल्ला पशुसेवा कार्यालय, नेपाल टेलिकम लगायत कार्यालय परिसरमा पनि दुई÷तीन फिट पानी जमेको छ । वर्षासँगै कैलालीका किसान भने धान रोपाइँमा लागेका छन् ।
वर्षाका कारण बजार क्षेत्र डुबानमा

यसैगरी आज बिहानदेखि भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासका क्षेत्र जलमग्न भएका छन् ।
निरन्तरको वर्षाका कारण भीमदत्त नगरपालिका–६ ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रमा डुबान हुँदा केही परिवार समस्या परेमा छन् । यहाँको उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदमराज थापाले वर्षाका कारण जिल्लामा कुनै डुबान तथा बाढीको समस्या नभएको बताउनुभयो । “अहिलेसम्म कुनै समस्या भएको छैन”, उहाँले भन्नुभयो, “वर्षाका कारण यहाँका विद्यालयको अध्यापनसमेत प्रभावित बन्न पुगेको छ ।” रासस
फोटोः दीपक उपाध्यायको फेसबुकबाट ।













प्रतिक्रिया