१९ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडितले राहत नपाएकामा सभामृुखको रुलिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti-Sansad

काठमाडौँ, ७ असार । सभामुख ओनसरी घर्तीले भूकम्पपीडित जनतालाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा धारणा राख्ने अधिकांश सांसदले भूकम्प गएको एक वर्षभन्दा बढी समय भइसक्दा समेत भूकम्पपीडितले राहत नपाएको भन्दै सरकारको चर्को आलोचना गरेपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो । उहाँले भूकम्पपछिको पुनःनिर्माण र पीडितलाई प्रदान गरिएको सहायताबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो ।

काबुल घटनाको निन्दा

सभामुख घर्तीले मङ्गलबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले गराएको विस्फोटमा परी निधन भएका १२ नेपालीप्रति शोक प्रकट गर्नुभयो । उहाँले त्यस प्रकारको आततायी घटनाको निन्दा गर्दै घाइतेको स्वास्थ्योपचारको व्यवस्था गर्न समेत आग्रह गर्नुभयो ।

यसअघि बैठकमा सांसदले काबुलमा भएको आतङ्ककारी विस्फोटमा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै विदेशी भूमिमा रहेका नेपालीको सुरक्षा गर्न आग्रह गर्नुभएको थियो ।

सरकारले नेपालीको सुरक्षा, घाइतेको उपचार र मृतकका आश्रित परिवारलाई राहत दिन तथा द्वन्द्वग्रस्त मुलुकमा गैरकानुनी रुपमा नेपालीलाई पठाउने वैदेशिक रोजगार संस्थालाई कारबाही गर्न आग्रह गर्नुभयो । बैठकको विशेष समयमा नेकपा (एमाले) का चूडामणि विक जङ्गलीले अफगानिस्तानमा नेपालीको हत्याको छानबिन गर्न र विदेशमा रहेका नागरिकको सुरक्षाको प्रबन्ध गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली नागरिकको रक्षा गर्न नसक्नु र उनीहरुलाई असुरक्षित रुपमा काममा लगाउने प्रवृत्ति गलत भएको धारणा राख्नुभयो ।
सोही दलका विकास लम्सालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका पक्षमा जुन रुपमा काम गर्नुपर्ने हो त्यो गर्न नसके पनि काम अगाडि बढेकाले अनावश्यक विरोध नगर्न आग्रह गर्नुभयो । एमालेकै देवराज भारले पुनर्वास र पुनःनिर्माणका कामसँगै बाढीपहिरोपीडितलाई पनि सघाउने प्रतिबद्धता सरकारबाट भएको तर बाँके बर्दियाका बाढीपीडित आवास समस्याबाट मुक्त हुन नसकेको गुनासो गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का तुलसा रानाले अफगानिस्तानमा नेपाली कसरी र कुन उद्देश्यका लागि लगिएको हो सो सम्बन्धमा सकारले सदनलाई थप प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले खानेपानीको चरम समस्या रहेको पाल्पाको सदरमुकाम तानसेनमा तत्काल सहज खानेपानीको आपूर्ति गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले तालिवानी आक्रमणमा परी घाइते भएका नेपालीको उपचारको प्रबन्ध गर्दै तिनलाई तत्काल मुलुक भित्र्याउनेतर्फ पहल गर्न आग्रह गर्नुभयो । नेमकिपाका प्रेम सुवालले अशान्ति मच्चिएको मुलुकमा युवा पठाइएको गुनासो गर्दै मुलुकभित्रै युवालाई रोजगारी दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशीले सरकारमा रहेका मन्त्रीले नै गणतन्त्र र सङ्घीयताविरुद्ध धारणा राखिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भूकम्पपीडित जनालाई एकमुष्ट रुपमा रु दुई लाख राहत प्रदान गर्नुपर्ने भए पनि प्राधिकरणले प्रभावकारी काम गर्न नसकेकामा गुनासो गर्नुभयो । सोही दलका दीपकप्रसाद कुइँकेलले काठमाडौँ उपत्यकामा भूकम्पपीडितको लगत नै सङ्कलन नगरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । रासस