१९ कार्तिक २०८३, बिहिबार

कुलतमा फसेर टिचिंगमा उपचारत युवाहरु भन्छन्: साथीले नै बर्बाद बनाए

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hospital

– नरेश केसी

काठमाडौं, ७ असार । अस्पतालको डि एडिक्सन वार्डमा उपचारत युवा युवतीहरुलाई हेर्ने जो कोहीले पनि भन्ने गर्दछ । यिनीहरु सबै ठीकै देखिन्छन् । किन ल्याइएको होला तर ती सबै युवाहरु लागु औषध, मदिरा सेवन जस्तो दुव्यर्सनीमा फस्दा विरामी भई उपचारकोलागी त्यहां ल्याइएको हो । उपचारकोलागी ल्याइएको विरामीका कुरुवाहरुलाई हेर्ने हो भने उनीहरु आफ्ना विरामीलाई मात्रै होइन अन्य बेडका विरामीलाई पनि सम्झाई बुझाइ गरिरहेका देखिन्छन् । विरामीहरु मध्ये कयौं त आखां छलेर भाग्ने पनि गर्दछन् । तीनै युवाहरु कयौंले अस्पतालको बेडबाटै पश्चताप पनि गरिरहेका छन् । कुलतमा फस्नुमा साथीसंगतिको भूमिका मुख्य भएकोले साथी छान्दा असल साथी मात्रै छान्न उनीहरुले सुझाव पनि दिने गरेका छन् । अस्पतालको बेडबाट उपचाररत युवाहरुले बताएको आफ्नो अनुभव ः

बेड नम्बर ४ :
हिमालयन ह्वाइटआउस इन्टरनेशनल कलेज, काठमाण्डौंमा व्यवस्थापनमा +२ र विविए गरेको हुं । प्लस टुमा विशिष्ट श्रेणी र बिबिएमा ४ पूर्णाकमा ३.९ ल्याई उत्तिर्ण भइ एम ए अध्ययन गर्दैछु ।

बिबिएको अन्तिम परिक्षा दिदा सम्म मैले मदिरा सेवन कह्ल्यिै गरेको थिइन् । तर कलेजको अन्त्यतिर कलेजबाट २ महिने भ्रमणमा जाँदा खेर सम्पूर्ण साथीहरुसँगै बसी रक्सी खान सिकीयो, खाइयो । त्यो २ महिनाको समयमा रक्सी नछुटेको दिनै भएन । कलेजले लगेको २ महिने भ्रमणमा हामी सबैले रक्सी खायौं । मजाकोलागी खाएको रक्सीले त्यसपछि मलाई छाड्न धौ धौ मान्यो । तर विविए पश्चात मैले जागिरको सिलसिलामा २ वर्ष सम्म रक्सी छुँदा पनि छोइन । फेरी अफीसले पनि भ्रमण लग्यो त्यो क्रममा पुनः निरन्तर पिइयो । घरबाट बाहिर निस्केपछि स्वतन्त्रताको नाममा सबैले खुबै पियौं । त्यसमा विनोद सर, रमेश सर, डा. नवराज, म, नरेश सर अनि अन्य ३ जना गरी जम्मा ८ जना थियौँ । २१ दिनको टुर पश्चिम धनगढी देखि लिएर पूर्व इलाम सम्मको टुर थियो । त्यो अवधिमा एक दिन पनि रक्सी टुटेन । गाउँका मानिसहरु बिहान उठेर चिया पिउँथे, हामी भने रक्सी पिउँथ्यौँ । यस क्रममा धेरै नै लत बस्यो ।

त्यस पश्चात प्राय राती कहिलेकाँही घरमै लुकेर खान थालियो । कहिले साथीहरुसँग बसेर खान थालियो । यसरी अलि अलि गर्दै झन् धेरै लत बढ्न थाल्यो ।

बिचमा फेरी १ वर्ष जति खान छाडेपछि जब ठूलो दाइको विवाह भयो, मैले मेरो कोठा फेर्नुपर्ने भयो । म घरको तल्लो तलाको कोठामा सरे । जब म तल्लो कोठामा सरेँ, मनमा एक किसिमको उमंग आयो र मनमनै लाग्न थाल्यो । म स्वतन्त्र भएँ, किनकी मेरो कोठामा म बाहेक कहिले कोही मेरो कोठामा प्रवेश गर्नुहुन्न थियो । त्यतिबेला म ठूलो भ्रममा रहेछु, बल्ल थाहा पाउँदैछु । मैले लुकेर रक्सी खाँदा मलाई मात्र हानी नभएर मेरो परिवारको इज्जत, समाजमा भएको मा, प्रतिष्ठा सबै गुमाइरहेको रहेछु । मेरो कोठामा मैले पढ्ने पुस्तक भन्दा रक्सीका सिसीहरुको संख्या धेरै हुन् पुग्यो कि त्यसलाई व्यवस्थापन गर्न सक्ने सोचको विकास गर्न सकिन मैले ।

सोचेको थिए मैले अभिभावकलाई ढाँटिरहेको छु तर वास्तवमा अहिले बुझ्दा म आफै ढाँटिरहेको रहेछु । धेरै पटक मेरो व्यवहारले मेरो परिवारलाई तनाव पु¥यायो । उस्तै परिवारमा मेरो जन्म भएको भए सायद अहिले यो संसारमा हुने थिईन होला । मेरो यो कुलत छुटाउन मेरो ड्याडले विगत १ वर्षदेखी निरन्तर प्रयास गरेपनि मेरो बानीले मेरो ड्याडको मलाई सुधार्ने बानीले हार खायो ।

ड्याडले मलाई उपचारको लागि त्रि.वि शिक्षण अस्पताल लिएर आउनुभयो र मेरै लागि धेरै दौडधुप गरिहनुभएकोछ । मनमनै लाग्यो मैले मेरो परिवारलाई धेरै नै रुवाएर, दुःख दिएको रहेछु । त्यसमाथि सोच आयो अब त म एक्लो छैन मेरो ड्याड, ममी, दाजु, भाउजू, दाई, भाई र विशेष गरी मेरो जीवनसंगिनी जसले आफ्नो जन्म दिने आमा, बुवा छाडी मलाई नै सबैथोक सम्झी आएकी छिन् सबैजना मेरो साथमा हुनुहुन्छ ।

उनको, मेरो र हामीबाट हुने हाम्रो सन्तानको बारे सोच्नुपर्ने अवस्था आइसकेछ । अझै भन्नुपर्दा मेरो काँधमा त परिवारको मात्र नभएर म बस्ने समाज र म कार्यरत संस्थाप्रति पनि ठूलो जिम्मेवारी रहेछ ।

आज यतिका दिन भयो यहां बसेको । यस अवधिमा मैले धेरै सकारात्मक ज्ञानगुनका कुरा सिक्ने अवसर पाएँ । सबैभन्दा पहिला परिवारको सदस्यको महत्वको बारेमा बुझेँ, त्यस पश्चात लागूपदार्थ सेवनका बेफाइदाबारे बुझेँ । आफ्नो एकछिनको मोजमस्तीले गर्दा परिवारका सदस्यहरुलाई कति पीडा र असहज हुन्छ भन्न्ो बारेमा धेरै कुरा बुझेँ ।

अब त पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु कि यो रक्सी भन्ने कुरा मेरो लागि बनेकै होईन् । मेरो जन्म त एक आदर्श छोरा, समाजको नियम, कानुन र मर्यादा पालना गर्ने र आफ्नो र आफ्नो परिवारको भविष्य सुन्दर र उज्जवल बनाउन तन र मनदेखि डटेर लाग्ने प्रण गर्दछु । जसरी २०४५ सालमा तेह्रथुममा म जन्मिदा मेरो डयाडी मम्मी खुसी हुनुहुन्थ्यो । त्यसैगरी पुनः उहांहरुलाई खुसी दिन म सबै कोसीस गर्नेछु । म आफै भन्दा साथीहरुको कारण मदिरा सेवनमा पुगेको हुं । साथी छान्दा राम्रो छान्न सकिएन भने जिन्दगीमा ठूलो हन्डर खानु पर्दोरहेछ ।

बेड नम्बर ६
मैले भक्तपुरको लोटस इन्टरनेशनलबाट एसएलसी राम्रो श्रेणीमा उत्तिण गरी लैनचौरको निस्ट कलेजमा पढे । हामी दुइ दाजु भाई हो । मेरो दाजु अमेरिकामा बस्नुहुन्छ । मलाई घरमा केही कमि छैन । बुबा नेपाल विद्युत प्राधिकरणबाट निवृत अधिकृत हो । घरमा म, आमा र बुबा छौं । कलेज पढ्दा पढ्दै हिमालय जाभा सिभीलबाट कफी स्पेशल तालीम पनि लिएको छु । मैले साथीहरुको कारण ८ कक्षामा पढ्दा पहिलो चोटी चुरोट तानेको थिए ।

कलेज पढ्ने क्रममा गोगंबु बसपार्क घर भएका अर्जुन शाह संग चिनचान भयो । उहां हाम्रो दाता हो । अर्जुन दाइले मनोज र मलाई एकदमै माया गर्नुहुन्छ । उहांले अहिले सम्म मलाई जि, प्रसाद ( गाजा), पानि (टी, टी), गेडागुडी (ड्रप, टयाब्लेट) दैनिक सित्तैमा दिनुभयो । उहां धेरै राम्रो मान्छे कहिल्यै पैसा लिनुभएन । उहांको घरमा हामीहरु दिनभरी बस्थ्यौं । उहाले विद्युतको काम गर्नुहुन्छ । उहांले दिनभरी विद्युतको काम गर्ने सांझ आउदां हामीलाई डोज ल्याइदिएर आउनुहुन्थ्यो ।

म अस्पताल आएको पातलो भएर हो । मैले एभिएल, स्पास, डायमीन , टी.टी. लगाउने खाने गरेको छु । टी.टी. आफै लगाउने गरेकोछु । हामी सबै साथीहरु भेट्ने ठाऊ खाल्डोमा हो । नेपाल टारको खाल्डोः हामीहरु सिनीयर दाई जुनियर भाई , बहिनीहरु सबै मिलेर खाने लगाउने ठाऊ हो । त्यहां जो जस संग जे छ त्यहि बाडीचुडी खान्छौं, लाउछौं । दाईहरुले बहिनीहरुसंग रमाइलो पनि गर्नुहुन्छ । बहिनीहरु कलेजबाट सिधैं आउछन् ।

म घर छाडेर एक एक महिना घर बाहिर साथीहरुसंग घुम्न हिडेको छु । हामीलाई चप्पुरको शुसान्त भन्ने डल्लेले १६ खुट्टे कलेज कक्षा ११ मा पढ्नेले जिल्ला बाहिरबाट सामान ल्याइदिन्छ । ब्राउन सुगर, जि, लोनाज, नाइटोभ्याट, अमिरियल, ग्लुकोडाइन, फेन्साडाइल डल्लेले दिने गर्दछ । नेपालटारको खाल्डो, मनमैजुको डाडो, भक्तपुरको सल्लाघारी हाम्रो सुरक्षीत क्षेत्र हो ।

जिन्दगीमा धेरै खाइयो । पैसा पनि धेरै उडाइयो । अब नखाने प्रतिबद्धता गरको छु । बुबा मुटुको अप्रेशन गरेको मान्छे , आमा पनि बृद्धा हुनुहुन्छ । म घरको कान्छो छोरा अब जिम्मेवारीको अनुभुति भएको छु । म यत्तिका दिन विरामी भएर अस्पताल भर्ना भए मेरा ती खाल्डोमा दिनरात विताउनेहरु र महिनौंसंगै घुम्नेहरु पनि आजका दिनसम्म पनि मलाई सम्पर्क गरेका छैनन् ।

बेड नम्बर ३
मेरो जन्म २०३६ सालमा महोत्तरीको किसाननगर वडा नम्बर ७ मा भएको हो । बुबा ६ वर्षको उमेरमा बित्नु भयो । विगत २० वर्षदेखी महोत्तरीका विभिन्न हाटमा कुखुरा व्यापार गर्दै आएको छु । जिवनमा धेरै दुखः गरे । दिनभरी यता उत ागर्ने क्रममा रक्सी खान सिकेको हुं ।

मैले पुर्वका धेरै पम्पहरु बसालेको छु । पलम्बींगको पनि काम गरेको छु । मासुको व्यवसाय गर्ने भएकोले खानपीन पनि सधैं हुन्छ । त्यसै क्रममा नियमित हुन थाल्यो । लोकल रक्सी मलाई धेरै मन पर्छ । ब्लु डायमन्ड पनि खानेगरेकोछु । अहिले बजारबाट फर्केपछि एकैचोटी विरामी भएछु । ३ दिन सम्म सुतेछु । त्यसपछि परिवारले बर्दिबास अस्पताल पुराएछन् । त्यहाको अस्पतालले यहां टिचींगमा पठायो ।

अहिले सम्म ५० हजार जत्ति खर्च भइसक्यो । अझै कति बस्न पर्ने हो । काम गरेर खाने मान्छे हालत यस्तो छ । जिन्दगीमा पानी भन्दा धेरै रक्सी धेरै खाइयो । अब खान्न । श्रीमति, आफन्त सबैलाई दुख भइरहेको छ। छोरा छोरी क्याम्पस पढ्छन् ।

बेड नम्बर ४

२ छोरा र १ छोरीको बुबा हुं । काठमाण्डौंमा साढे ४ तल्लाको घर छ । २६ वर्ष अगाडीबाट आफ्नै गाडी चलाउन थालेको हुं । छोराछोरीले दिनदिनै कराउंछन् । तर के गर्ने रक्सी नखाइ निद नै लाग्दैन्थ्यो तर आज २१ दिन भयो यहां आएको यत्तिका दिन सम्म नखादा पनि आरामले सुत्ने गरेको छु ।

दिनभरी गाडी चलायो सांझ साथीभाईसंग बस्यो टन्न खायो । घर जादां सधैं झगडा हुने गर्दथ्यो । घरमा खाना खाएर बसेको एकैचोटी ढलेछु । त्यसपछि अस्पताल लिएर आएछन् । दिनदिनै झगडा गर्ने श्रीमतीले यत्तिका स्याहार सुसार गरिरहेकीछन् । म धेरै नै खुसी छु । यहां पनि धेरै खर्च भइसक्यो । अब डाक्टर , इस्टमीत्र सबैले धेरै सम्झाए । अब नखाने कसम खाएको छु ।

बेड नम्बर ८
म कपिलवस्तु बस्ने गर्छु । म विगत ६ बर्ष देखी एउटा निजी कम्पनीमा अधिकृत छु । पहिले कलेज पढ्दा कहिलेकाहिं रक्सी खाने गर्दथे । अहिले अधिकृत भएपछि सबैसंग समन्वय गरेर काम गर्नुपर्ने । दैनिक जसो खानपीन हुन थाल्यो । कम्पनिमा उस्तै साथीहरु बसोबास गर्ने हुनाले दिनदिनै खानपीन औधी हुन्थ्यो । त्यो लतमा परिणतः भयो । पछि विहे पनि गरे । विहे पश्चात रक्सी खान्न भनेर धेरै पटक कोसीस गरे तर केही दिन छाडें पछि पुनः नियमित हुन थाल्यो ।

धेरै रक्सी खाइयो । जसको कारण आज अस्ताल आउनु पर्यो । मेरो कारणले घरकाले धेरै दुखः पाए । खर्च पनि धेरै भयो । अब जे जे भयो भयो सबै विर्सेर नखाने अठोट गरेको छु । आज २२ दिन भयो अफीस छुटेको छ । श्रीमति पनि आफ्नो अफीस छाडेर यहां आएकी छन् । दाजु बहिनी पनि धेरैले दुखः पाए । चिकीत्सकले रक्सी नखान धेरै सम्झाएका छन् । यहांका सिस्टरहरुको व्यवहारले पनि रक्सीको नाम विर्साएको छ । मलाई अब विश्वास छ म अब कहिल्यै नखाने भएको छु । रक्सी सेवन जिवनको बर्बादी रहेछ । विस्तारै लाग्ने विष रहेछ । यी हेर्नुस् पहिले मेरो हात थरथरी काप्थ्यो अहिले केही छैन ।