१ कार्तिक २०८३, आइतबार

सिरहामा आफ्नै छोराको कुटेर हत्या, बाबु पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khutpit– दिलिप सिंह

सिरहा, ६ असार । जिल्लाको लहान नगरपालिकामा एक जनाले आफ्नै छोरालाई कुटेर हत्या गरेका छन् । लहान नगरपालिका वडा नम्बर २० बस्ने बर्ष ४० को बेचन रामले छोरा बर्ष २२ का सन्जित रामलाई कुटपिट गरी हत्या गरेका हुन् ।

बुवाको कुटपिटबाट जेठ २३ गते गम्भिर घाइते भएका सन्जित उपचारको क्रममा असार ५ गते राति विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार घरमा भएको विवादमा बुवाले आफ्ना छोरालाई कुटपिट गरी घाइते बनाएका थिए । बुवाको कुटपिटबाट घाँटीको नसा भाचिएको अवस्थामा उनको उपचार लहान अस्पतालमा नभएपछि थप उपचारको लागि सोही दिन विराटनगर स्थित न्यूरो अस्पताल पठाइएको लहान अस्पताल स्रोतले जनाएको छ ।

मृतकको शव अस्पतालमै

मृतक रामको शवलाई सोमबार पोस्टमार्टम गरिने भएपनि मृतकको उपचारमा लागेको खर्च बुझाउन बाँकी रहेकाले विराटनगर स्थित न्युरो अस्पताल शव बुझाउन मानेनन् । अस्पतालले उपचारमा लागेको खर्च भुक्तानी नहुञ्जेल शव पोस्टमार्टमका लागि नदिने बताएपछि सोमबार पोस्टमार्टम नभएको लहान प्रहरीले जनाएको छ ।

प्रहरी प्रतिवेदनबाट कार्वाही हुन्छ

बुवाकै कुटपिटबाट छोराको मृत्यु भएपछि परिवारका अन्य सदस्यले हत्या गर्ने विरुद्ध उजुरी दिन इन्कार गरेका छन् । परिवारका सदस्यहरुले उजुरी दिँदा सजाय धेरै हुन सक्ने भन्दै प्रहरीलाई उजुरी दिन नमानेको प्रहरी स्रोतले जनाएको छ । लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार उपचारमा रहेको छोराको मृत्यु भएपछि हत्या गर्ने वुवा बेचन रामलाई नियन्त्रणमा लिइएको छ । उनले नियन्त्रणमा लिइएको राममाथि कर्तव्य ज्यानको मुद्दा चलाइने बताए ।

हत्या गर्ने बेचन विभिन्न अपराधमा संलग्न

छोराको हत्या गर्ने व्यक्ति अपराधको पटके रहेको देखिएको छ । उनी विभिन्न अपराधमा यसअघि इलाका प्रहरी कार्यालय लहानको हिरासतमा बसेको प्रहरी रेकर्डमा देखिन्छ । प्रहरी स्रोतका अनुसार चोरी, तस्करी, कुटपिट, सार्वजनिक अपराध लगायतका घटनाहरुमा पटक पटक प्रहरी हिरासतमा बसी सजाय भोगेका छन् ।

हत्या गर्नेलाई कार्वाही गर्न अधिकारकर्मीहरुको जोड

विभिन्न अपराधमा संलग्न रह्दै आएका बुवाको कुटपिटबाट छोराको मृत्यु भएपछि दोसीलाई उन्मुक्ति हुने गरी अनुसन्धान नगर्न जिल्ला अधिकारकर्मीहरुले माग गरेका छन् । लहानमा भएको एक कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले कुनै पनि कारणले कुटपिटबाट मानिसको ज्यान जानु अपराध भएकाले अपराधमा संलग्नलाई उन्मुक्ति हुने अनुसन्धान नगर्न प्रहरीलाई सुझाएका छन् । घटनामा बुवा छोराको सम्बन्ध रहेकाले फित्तलो अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दालाई कमजोर बनाउन सकिनेमा आंशका गर्दै त्यस्तो नगर्न प्रहरीलाई आग्रह गरेका छन् ।