– मोहन पौडेल
परासी, ६ असार । तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु भएको छ ।
भगवान गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहाँसिक रामग्राम नगरी परासीस्थित आर्दश उच्च माविको प्रांगढमा सुरु भएको महाधिवेशनको पार्टीका अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो ।
महाधिवेशनमा नेपाल र भारतका विभिन्न दलका शीर्ष नेताहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उद्घाटन शत्रमा बोल्ने आन्दोलरत दलहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी नै रहने बताएका छन् भने प्रमुख प्रतिपक्षी तथा सत्तापक्षका दलहरुले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले पटक पटक वार्ताको नाटक गर्ने र परिमाण ननिस्कने गरेको भन्दै सरकार सम्बेदनशिल नहुँदासम्म आन्दोलन जारी राख्नुको विकल्प नभएको बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले अधिकार प्राप्तीका लागि काठमाडौंमा समेत कुरवानी दिन तयार रहेको भन्दै सरकारलाई झुकाएरै छाड्ने बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले मधेसीसहित पछाडि परेका समुदायले राजनीतिक अधिकार प्राप्त नगर्दासम्म नेपालमा आर्थिक क्रान्ति हुनै नसक्ने भन्दै मधेसका माग सम्बोधन गर्न सरकारलाई सद्बुद्धि आओस भन्ने कामना गर्नुभयो ।
मधेसी दलका नेताहरुको मन्तव्य सुनिरहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मधेसका सवै समस्या समाधान गर्न आफ्नो पार्टीले पहल गर्ने बताउनुभयो । उहाँले वार्ताको माध्यमबाट निकास खोज्न आन्दोलनरत दलहरुलाई आग्रह गर्दै आफ्नो पार्टीले त्यसमा भुमिका खेल्ने बताउनुभयो ।

यसैगरी सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले मधेसका दलहरुले भनेजस्तै मधेसमा दुई प्रदेश हुनुपर्नेमा आफनो पार्टीको घोषणा पत्रमै उल्लेख गरेको तर सीमांकनमा छलफल गर्न सकिने धारणा राख्नुभयो ।
तमलोपाको महाधिवेशन उद्घाटन शत्रमा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोश्यारी, विहारका पुर्व मन्त्री रघुबंश सिंहले मधेसका माग सम्बोधन नहुँदासम्म एकतावद्ध भएर लड्न मधेसवादी दलहरुलाई सुझाव दिएका छन् ।
यसैगरी उद्घाटन शत्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि डा आभासलाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
आजदेखि सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनमा भोली र पर्सी बन्दसत्र सञ्चालन हुनेछ ।
बन्दसत्रमा राजनितिक दस्तावेज पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गरि पारित गर्ने र पार्टीको आगामी कार्यकालका लागि ७१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न हुने महामन्त्री गोविन्द चौधरीले बताउनुभएको छ ।















प्रतिक्रिया