धनगढी, ६ असार । जिल्ला विकास समिति कैलालीले आइतबार खोलेको ढुंगा गिट्टी र बालुवाको टेण्डरमा मिलेमतो भएको देखिएको छ । हरेक वर्ष जिविसले निकाल्दै आएको टेण्डरमा जिविसका कर्मचारी र ठेकेदारको मिलेमतोमा राजश्व घाटा पारि कम रकमको टेण्डर खोलिएको छ ।
गतवर्ष खुटिया सेक्टरको १ करोड ८१ लाखमा गएको ठेक्का यस वर्ष मिलेमतोमा ९२ लाख टेण्डर परेको छ । यसको न्यूनतम टेण्डर रकम ९१ लाख राखिएको थियो । गत वर्ष ८० लाखको न्यूनतम टेण्डर रकममा १ करोड ८१ लख रुपैंयामा ठेक्का गएको थियो ।
तर यस वर्ष राजस्वफाँटका प्रमुख योगेन्द्र चन्द र ठेकेदारको मिलेमतोमा जिविसलाई करिब एक करोडको राजस्व घाटापर्ने गरि निर्णय गरेकाछन् । यस्तै कान्द्रा सेक्टर ४० लाखको टेण्डर परेको छ ।
३९ लाख न्यून रकम राखिएको थियो । गत वर्ष सोही सेक्टरमा ६९ लाख रुपैंयाको टेण्डर परेको थियो । भने कर्णाली सेक्टरमा गत वर्षभन्दा बढी परेको छ । जिविस स्रोतका अनुसार कर्णाली सेक्टरमा २ करोड ५१ लाखको टेण्डर रहेको छ । १ करोड १ लाख न्यूनतम रकम राखिएको थियो । गत वर्ष कर्णाली सेक्टर १ करोड ६९ लाखमा ठेक्का गएको थियो ।
तीन वटै सेक्टरमध्ये ढुंगा बालुवा र गिट्टीको राम्रो सम्भावना भएको खुटिया क्षेत्रनै हो । खुटिया नजिकै तीन वटा क्रसर उद्योगहरु रहेकाछन् । बसोवास र निर्माणका हिसावले पनि बढी खपत हुने क्षेत्र भनेको खुटियानै रहेको छ ।
तर जिल्ला विकास समितिका कर्मचारीहरुको मिलेमतोमा खुटिया क्षेत्रमा कम रकमको टेण्डर हालिएको छ । टेण्डर खोल्नुभन्दा तीन दिन अघि चौराहाको एक होटलमा स्थानीय विकास अधिकारी केशव बिमली ,राजस्वफाँटका प्रमुख योगेन्द्र चन्द र ठेकेदाहरुको समूह बसेर रकमका बारेमा बार्गेनिंग गरिएको थियो । राजस्व बढाउने जिम्मा लिएका राजस्व फाँटका प्रमुख चन्दसहितको टोलीले ब्यक्तिगत फाइदा लिएर राजस्व घाटा गर्ने काममा शक्रिय हुने गरेकाछन् ।
असार २ गते साँझ करिब ८ बजेतिर स्थानीय विकास अधिकारी बिमली र राजस्वफाँटका प्रमुख चन्द सेतो कारमा अनौपचारिक ड्रेसमा चौराहस्थित एक होटलमा पुगेका थिए ।
तर स्थानीय विकास अधिकारीले आफू कुनै पनि होटलमा नगएको दावी गरेपनि समाचार स्रोतका अनुसार बिमली र चन्द होटलमा संगै गएका थिए । भोलीपल्टको एक कार्यक्रमको अतिथिको लागि आग्रह गर्दा स्थानीय विकास अधिकारी बिमलीले अनुगमनकालागि फिल्डमा जानुपर्ने भएकाले समय नहुने बताउनुभएको थियो ।
आफू पनि काम विशेषले धनगढी पुगेको र उहाँहरु पनि त्यहिँ भेटिनुभएकाले केहीसमय भलाकुसारी भएको एकजना ठेकदारले स्वीकारेकाछन् । चन्दले यस अघिका विभिन्न ठेक्काहरुमा समेत चलखेल गर्दै आएकाछन् । ठेकेदारहरुसंगको मिलेमतोमा आफूले मोटो रकम लिने र सरकारलाई घाटामा पार्दै आएकाछन् ।
२०६६साल साउन ८ गते धनगढी उपमाहानगरपालिका १ शिवनगरका एक स्थानीय बासिन्दाको २९ धुर जग्गाको नक्कली कागज बनाएर मालपोत कार्यालयमा जग्गा रोक्का गरेकाछन् । राजस्व फाँटका प्रमुख चन्द र तत्कालिन स्थानीय विकास अधिकारी गोकर्ण शर्माको मिलेमतोमा खुटियाको ढुंगा बालुवाको लागि बैंक ग्यारेण्टी भन्दै इसायन अमन कम्पनीको लागि उनको जग्गा मालपोतमा रोक्का गरिएको छ । बैंक रोक्का फिर्ता गर्न माग गर्दा समेत चन्दलेनै २ वर्षभित्र फुकुवा हुने भन्दै गैरजिम्मेवार जवाफ दिने गरेकाछन् । जग्गा फुकुवाकालागि जिल्ला विकास समितिले कुनै चासो नदेखाएपछि जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता भएको छ ।
राजस्व घाटा गरेर ब्यक्तिलाई फाइदा गराउने काममा लाग्ने कर्मचारीलाई कार्वाही गर्नुपर्ने माग स्थानीय बासिन्दाहरुले गरेकाछन् । राज्यको राजस्व घाटा गरेर ब्यक्तिले रजाँई गर्ने काम तत्काल बन्द गर्नुपर्ने नागरिक अगुवा रमेश बस्नेतले बताउनुभयो ।
गत वर्ष बढीमा गएको ठेक्क यसपटक कममा पार्नुभनेको कर्मचारी र ठेकेदारको मिलेमतो पष्ट भएको पूर्व साँसद नारमुनी रानाले बताउनुभयो । स्थानीय निकायलाई पंगुबनाएर कर्मचारी मोटाउने काम भएको उहाँले बताउनुभयो । यो टेण्डर स्थगित गरेर अर्को टेण्डर निकाल्नुपर्ने उहाँको भनाई छ ।
टेण्डर रकम घटाएको भन्ने समाचार आएपछि करिब दर्जन पत्रकारहरु जिविसमा पुगेका थिए । स्थानीय विकास अधिकारीले अनभिज्ञता देखाएका थिए । मिलेमतोमा ठेक्का घटाएको आशंका पत्रकारहरुले गरेपछि स्थानीय विकास अधिकारी बिमलीले यसको अन्तिम टुंगो लगाउन बाँकी रहेको बताउनुभयो ।
मुल्याँकन समितिले अन्तिम टुंगो नलागेसम्म अहिलेको सार्वजनिक भएका टेण्डर अन्तिम नहुने उहाँले बताउनुभयो । स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला प्राविधिकको इन्जिनियर र जिल्ला विकास समितिको कानुनी सल्लाहकार सदस्य रहेको समितिले अन्तिम टुंगो लगाउने छ । तर टेण्डरका बारेमा प्रश्न उठेपछि नयाँ गाइडलाईन बनाएर छानविन हुने स्थानीय बिकास अधिकारी बिमलीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया