काठमाडौं, २ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले सरकारले वार्ताका लागि आफूहरूलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
संविधान पुनर्लेखनको मागसहित आन्दोलनमा रहेको गठबन्धनका शीर्ष नेताहरूको बिहीबार काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बसेको बैठकले सरकारले वार्ताका नाममा दलहरूवीच विभाजन ल्याउने षड्यन्त्र गरेको जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले संघीय गठबन्धनमा विभाजन ल्याउने गरी वार्ताका लागि पत्र पठाएको भन्दै आफूहरूले आन्दोलनलाई झन् सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
‘आन्दोलन मै नरहेको चुरेभावर पार्टीलाई सरकारले वार्ताका लागि पत्र पठाउँछ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘विगत लामोसमयदेखि सडक आन्दोलनमा रहेको संघीय गठबन्धनलाई बेवास्ता हुन्छ ।’ सहअध्यक्ष श्रेष्ठले गठबन्धनलाई वार्तामा नबोलाइएकाले सो विषयमा निर्णय गर्न आवश्यक नरहेको बताउनुभयो ।
यसैवीच संघीय गठबन्धनले प्रवक्तामा जनजाति अगुवा डा. ओम गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघिका प्रवक्ताले गठबन्धन छाडेर बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा बिलय हुने निर्णय गरेपछि प्रवक्ता पद खाली थियो ।













प्रतिक्रिया