३० आश्विन २०८३, शुक्रबार

मेलम्चीको पानी वितरण गर्न उपत्यकाका नौ स्थानमा २२ किमी पाइप बिच्छ्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchi-pipe

काठमाडौँ, २ असार । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई बाँड्न २२ किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणाली र उपत्यकाका नौ स्थानमा बन्ने पानी ट्याङ्कीमार्फत ग्राहकका घरघरमा पानी वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम पनि सम्पन्न गरेको प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

“पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको छ, बाँकी काम पनि सुरुङ निर्माण हुनु अघि नै सम्पन्न गरिनेछ, मेलम्चीको पानी सुन्दरीजलमा खस्ने बित्तिकै वितरण गर्न सञ्जाल निर्माण गरी सक्छौँ”– उहाँले भन्नुभयो ।

सुन्दरीजलदेखि महाँकालचौरसम्म ९.६ किमी पाइप बिच्छ्याउनुपर्नेमा ९.५ किमी सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।

थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताउनुभयो ।

“थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९.६ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उहाँले भन्नुभयो ।

पाइप बिच्छ्याउँदा सडकमा समस्या भएपछि निर्देशनालयले आगामी हप्ता सोमबार सडक विभागसँग सम्झौता गरी सडक निर्माणलाई पनि समन्वयात्मक रुपमा लैजाने भएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तार गर्ने स्थान र नयाँ सडक बन्ने स्थानमा निर्माणकै क्रममा पाइप बिच्छ्याउने काम सँगसँगै भइरहेको आयोजना प्रमुख खत्रीले जानकारी दिनुभयो । रासस