काठमाडौं, १ असार । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा विहीबार (भोली) सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक कार्यालयले यस वर्षको नतिजामा कोही पनि विद्यार्थी फेल नहुने जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहिबार अपराह्न सार्वजनिक गरिने बताए ।
‘नतिजा भोली अपराह्न सार्वजनिक गर्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार विभिन्न समूहमा छुट्याएर नतिजा आउँछ । यसपटकको नतिजाले विगत जस्तो फेल, पास र श्रेणी छुट्याउने छैन्,’ उनले भने ।
एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो ।
परीक्षाको नतिजा यसवर्षदेखि अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए ।
नौ ग्रेडिङमा परीक्षाफल
एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए ।
नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।














प्रतिक्रिया