२६ कार्तिक २०८३, बिहिबार

तागत छञ्जेल मागेर खाने, बुढेसकालमा के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badi-Pariwar– झलक पाली

डोटी, १ असार । डोटी सदरमुकाम सिलगढीमा मंगलबार एक वयस्क जोडी मादल बजाउँदै गीत गाउँदै आर्थिक सहयोग जुटाउँदै थिए । झट्ट हेर्दा गीत सँगीत अनि मनोरञ्जन भन्ने वित्तिकै मान्छेको मन हुरुक्कै हुन्छ । तर उक्त जोडीको गीत गाउँदै हिड्नुको रहस्य छुट्टै थियो ।
डोटीको तोलेनी गा.वि.स.–३ ग्वानी भन्ने गाउँमा ४ आना जमिनमा २ कोठे जस्तापाताले छाएको घर बाहेक आफुसँग केही नभएको छविलाल दास बताउँछन् ।

आफु गर्भमै छँदा बुबा गिठे दासको मृत्यु भईसकेको र जन्मेको झण्डै डेढ वर्षपछि आमा धौलीदेवीको मृत्यु भएपछि आफु टुहुरो भएको उनले पीडा पोखे ।

आफुभन्दा अगाडी ५ दाजुहरु भएकाले उहाँहरुकै साहाराले छविलालको बाल्यकाल बितेको उनि सुनाउँछन् । उनले न त स्कुल पढ्न पाए, न त कुनै सिप सिक्न नै ।

आफ्नो जन्म मिति नै थाहा नभए पनि केहि वर्ष पहिले उनले नागरिकता प्राप्त गरिसकेका छन् र गाउँलेहरुको सल्लाहले त्यति बेलै उनको उमेर ४७ वर्ष उल्लेख गरिएको छ ।

विवाह गरेको लगभग २५ वर्ष भएको बताउने छविलालकी श्रीमतीको कोखबाट ३ छोरा र ३ छोरीको जन्म भए पनि सबैभन्दा कान्छी छोरी बाहेक अरुले शिशु अवस्थामै यो संसार त्यागे । उनकी एक मात्र छोरी निशा अहिले १० वर्षकी छिन् ।

बाजुरा माईती भएकी छविलालकी श्रीमती जुन्तारादेवीले आँशु झार्दै कहिलेकाँही आफुहरु भोकै बस्नु पर्ने अवस्था आउने गरेको र छोरीले छिमेकीको घरमा गएर मागेर खाने गरेको बताईन् । स्थानीय भाषामै उनले भनिन् – ‘कैल्यै त भोकै बस्सुपड्डछ, नान्की (छोरी) अर्काका घर गईबट लकै खानी छ ।’

मंगलबार पनि दिउँसको १ः१९ बजिसकेको थियो छविलाल र जुन्ताराले एक गिलास चिया बाहेक केहि खान पाएका थिएनन् ।
जुन्ताराले निन्याउरो मुख लगाउँदै भनिन्–‘आज पनि भोकै बस्सु पड्डे हो हजुर, अब एकैचोटी बसाको (साँझ) खाना खाने हुँ ।’

आफ्नो जातै मागिखाने भएको भन्ने छापमा परेका छविलालले दिनभरी मागेको पैं २ सय देखी ४ सय सम्म जम्मा हुने गरेको सुनाए । त्यसै रकमबाट राशन तथा लुगाफाटोको जोहो मिलाउने गरेको उनले सुनाए ।

जिल्ला सदरमुकामबाट ६ घण्टाको सवारी यात्रा पर्ने ग्रामीण भेगका छविलाल १० वर्षे छोरी र श्रीमती लिएर सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पुगेको सुनाउँ छन् । दिपायलबाट जिल्ला सदरमुकाम सिलगढीसम्म आधा घण्टाको सवारी यात्रा हुने भए पनि पैंसा उठाउन २ घण्टा उकालो चढेको उनले बताए । दिपायल सिलगढीको यातायात भाडा एकसरो एक जनाको ४० रुपैंया लाग्दछ । बुढाबुढीको आउँदा जाँदा एक सय ६० खर्च भैहाल्ने हुँदा बेलुका पनि हिंडेरै दिपायल फर्किएका छन् ।

दिपायल र सिलगढीमा उठेको रकमले नुन, तेलको जोहो गर्ने उनको तयारी छ ।

उसो त मादल बनाउने सिप भएका छविलालले एउटा मादललाई एक हजार ६ सय सम्ममा विक्रि गर्ने गरेको सुनाए । तर मादल बनाउने परम्परागत सिप मात्रै भएकाले एउटै मादल बनाउन एक हप्ताभन्दा बढी लाग्ने सुनाए । मादल बनाउने काठ जम्मा गर्न शारीरिक अवस्था कमजोर हुँदै गएकाले अब समस्या भएको उनले सुनाए । साथै मादल बनाउँदा काठ खोल्ने साधन (रामो) पूरानै मोडेलको भएकाले नयाँ औजारहरु पाएमा सजिलै काम गर्न सक्ने उनले बताए । उनी भन्छन्–‘हामीले कहिंबाट केहि सहयोग पाएका छैनौं, मादल बनाउनकै लागि पनि साईज अनुसार काठ काट्ने, काठ खोल्ने साधन भईदिए सहयोग हुन्थ्यो ।’

त्यस्तै मादलका लागि बाख्राको छाला चाहिने र छाला नपाईने भएकाले पनि समस्या भएको उनले बताए ।

गाविसमा दलित समुदायका लागि विनियोजन हुने बजेटबारे कुनै थाहा नभएको बताउने छविलालका जोडीले उसो त वादी समुदायको परिचय पत्र पनि बनाईसकेको भए पनि हालसम्म कुनै सेवासुविधा नपाएको सुनाउँछन् ।

कहिं कसैले बाँझो जमिनमा खेती गरेर खान दिएमा कमाई गरेर पनि खानसक्ने उनको भनाई छ । तर कसैले आफ्नो जमिन दिन नमान्ने उनी सुनाउँछन् ।

जिल्लामा स्थानीय निकायमा आउने सेवा सुविधा र अन्य सरोकारवाला निकायले प्रदान गर्ने सेवा सुविधा यस्ता व्यक्तिले कहिले पाउने ? यो एउटा प्रतिनिधी घटना मात्रै हो, डोटीमा यस्ता कैयौं परिवार के खाउँ र के लाउँको अवस्थामा रहेका छन् ।