
काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको एक पत्रलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सकारात्मक रुपमा लिएका छन् ।
तर, उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले भने असन्तुष्टि जनाउँदै आएको छ । उसले गठबन्धनकै नाममा पत्र नपठाएसम्म वार्तामा नबस्ने अडान लिएको छ । गठबन्धनमा मोर्चामा आबद्ध दलहरु पनि छन् ।
मोर्चा र गठबन्धनमा आवद्ध दलमध्येको एक नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अहिलेको सरकारले मधेसी मोर्चालाई वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य रहेको बताए ।
मंगलबार सुनसरी सदरमुकाम इनरुवामा पत्रकारहरुसँग कुराकानी गर्दै झाले प्रधानमन्त्रीको पत्र सकारात्मक भएको बताएका हुन् ।
झाले सरकारले पठाएको पत्र एकदमै सकारात्मक भएका कारण अब मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यो टुङ्गो लाग्ने बताए ।
मोर्चा कै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताउदै झाले उहाँ आउने बित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउने जानकारी दिए ।
तर, उपेन्द्र यादव नेतृत्वको गठबन्धनले भने वार्ताका लागि गठबन्धनका नाममा पत्र नआएसम्म कुनै निर्णय नलिइने यादवका प्रेस सहयोगी महेश चौरासिया बताउँछन् ।
प्रधानमन्त्रीको पत्रमा उपेन्द्र यादव एकातिर देखिएका छन् भने राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा अर्काेतिर देखिएका छन् । २९ दल समेटेर गठबन्धन बनाएका यादव अहिले वार्ता गर्ने पक्षमा छैनन् भने महतो, ठाकुर चाँही मधेसी मोर्चाकै तर्फबाट सरकारसँग वार्ता गर्ने पक्षमा छन् ।












प्रतिक्रिया