२ कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, २७ साउन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक मंगलबारदेखि सुरू हुँदैछ ।

एमालेको यही साउन २ गतेको पहिलो बैठकले कार्यसूची निर्धारण गरी दोस्रो बैठक तय गरेको थियो ।

एमालेले दोस्रो बैठकका लागि महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसद्को कामलगायत कार्यसूची तय गरिएको छ ।

एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराईले बैठकका लागि तयारी पूरा भएको बताउनुभयो ।

पहिले बैठकले दिएको जिम्मेवारीअनुसार महाधिवेशनबाट पारित विधान संशोधन र दस्तावेजलाई अन्तिम रूप दिन गठित कार्यदलले आफ्नो काम सम्पन्न गरेको छ ।

महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन भएका थिए ।

यसका राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने सङ्गठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

एमालेको नवौँ महाधिवेशन गत असार १९ देखि साउन १ गतेसम्म सञ्चालन भएको थियो ।