३० आश्विन २०८३, शुक्रबार

दाङमा आधुनिक प्रविधिको सिमेन्ट उद्योग खुल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

new ciment– निशानदाजु भट्टराई

दाङ, २९ जेठ । दाङमा नयाँ अर्को सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । स्थानीय व्यवसायीहरुले स्वदेशी लगानीमा नै सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् । सिमेन्ट उद्योग सञ्चालनका लागि यस क्षेत्रकै प्रतिष्ठित व्यवसायी वासुदेव पाण्डेले लगानी गर्नुभएको छ ।

जिल्लामा करीव साढे तीन अर्बको लगानीमा जर्मन टेक्नोलोजी प्रविधिको प्रयोग गरी नयाँ सिमेन्ट उद्योग स्थापना गरिएको हो । तीन अर्ब ५१ करोडको लगानीमा सम्राट सिमेन्ट उद्योग स्थापना भएको हो ।

यो सिमेन्ट उद्योग जिल्लाको सतवरिया गाविस वडानम्वर १ मा स्थापना भएको छ । उद्योग विभागमा ठूला उद्योगका रुपमा दर्ता भएको यो उद्योग स्वदेशी लगानी धेरै गर्ने उद्योगका रुपमा पर्छ ।

सिमेन्ट उद्योगका सञ्चालक पाण्डेले उद्योग छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले उद्योग सञ्चालनको तयारी अन्तिमचरणमा पुगेकोे जानकारी दिनुभयो ।

‘उद्योग सञ्चालनको अन्तिम तयारीमा छौं, केही महिनाभित्रै उद्योग सञ्चालनमा ल्याउँछौँ’, सञ्चालक पाण्डेले भन्नुभयो, ‘उद्योगले बजारमा गुणस्तरीय सिमेन्ट ल्याउँछ, यसमा उद्योग पूर्णरुपमा प्रतिवद्ध छ, साथै भारतवाट सिमेन्ट आयात गर्ने कार्यलाई केही हदसम्म विस्थापित गर्न उद्योगले महत्वपुर्ण भुमिका खेल्नेछ ।’

उद्योगको वातावरणीय प्रभाव मूल्याङकनसहीत आवश्यक प्रक्रिया सबै पु-याएर सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको जानकारी दिँदै उहाँले उद्योगले वातावरण प्रदुषणलाई मध्यनजर गर्दै उच्चस्तरीय प्रविधि जडान गर्नुका साथै उद्योग क्षेत्रमा बृक्षरोपण गरिनेसमेत बताउनुभयो ।

केएचडि एचयुएमवोल्टेड डब्लुईडिएजि नामक जर्मन टेक्नोलोजी प्रविधिको प्रयोग गरेर उद्योग सञ्चालनमा ल्याउन लागिएको भन्दै सञ्चालक पाण्डेले यो नयाँ प्रविधि प्रयोग गर्ने नेपालमै पहिलो सिमेन्ट उद्योग सम्राट सिमेन्ट उद्योग भएको दावि गर्नु भयो ।

‘सम्राट सिमेन्ट उद्योगले गुणस्तरीय सिमेन्ट उत्पादनका लागि जर्मन प्रविधिको टेक्नोलोजि प्रयोग गरेको छ, यो नेपालको सन्दर्भमा लेटेस्ट मोडेलकारुपमा रहेकाले उद्योगले यो प्रविधि प्रयोग गर्ने योजना बनाएको हो–उहाले भन्नुभयो–‘हामिले उपभोक्ताहरुलाई ख्याल गर्दै गुणस्तरीय सिमेन्ट बजारमा ल्याउछौ, यो उद्योगको प्रतिवद्धता हो, बजारमा विभिन्न सिमेन्ट कम्पनिले उत्पादन गरेका सिमेन्टका विषयमा नकारात्मक टिकाटिप्पणिहरु सुनिरहेका अवस्थामा उद्योगले सिमेन्टको गुणस्तरमा धेरै ख्यालपनि गर्नेछ ।’

विदेशिले मात्र सिमेन्ट उद्योग खोल्न सक्छन्, नेपालिले खोल्न सक्दैनन् भन्ने भ्रमलाई चिर्न आफुहरुले स्वदेशि लगानिमै उद्योग खोल्ने तयारीमा जुटेको भन्दै सञ्चालक पाण्डेले भन्नुभयो, ‘विदेशी सिपको सहयोग लिएर स्थानियस्तरमा आफै लगानि गरेर उद्योग सञ्चालनमा ल्याउन लागिरहेका छौ, यसमा दङगालि जनताको पुर्ण साथ, सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु, सिमेन्ट उद्योगलाई नजिकवाट नियालिरहेर लामोसमयदेखि काम गरेकाले मसंग अनुभव पनि छ।’ सिमेन्ट प्याकिङ् गर्नका लागि प्याकिङ प्लान्ट जडान गर्ने कार्य चलिरहेको छ ।

एफएलएसएम आई टिएच नामक डेनमार्कको प्रविधिको प्याकिङ प्लान्ट जडान भएमा लोड अनलोड गर्नका लागि जनशक्ति नै आवश्यक नपर्ने उद्योगको भनाई रहेको छ । उक्त प्लान्टवाट प्रतिघण्टा १ हजार २ सय ब्याग लोड हुने र उद्योगमा अध्याधुनिक ल्यावसमेतको ब्यवस्था गरीएको सञ्चालक पाण्डेले जानकारी दिनु भयो ।

‘मलाई ब्यावसायिकरुपमा सबैले राम्रोसंग चिनेकाले पनि सिमेन्टको गुणस्तरलाई सबेभन्दा बढि ध्यान दिन्छु, विभिन्न जर्मनि तथा डेनमार्कको नयाँ प्रविधिसंगै अत्याधुनिक ल्याव हामिसंग भएका कारण स्थानियस्तरमा उत्पादन भएको सिमेन्टले राम्रो बजार पाउने मैले विश्वास लिएको छु, कहीलेकाही प्रविधिले धोका दिए छुट्टै कुरा हो, जानि जानि गुणतरहीन सिमेन्ट बजारमा लगरे उपभोक्तालाई विक्री गर्ने यो उद्योगवाट हुदैन, यदि त्यस्तो पाईएमा आफु ब्यवसायवाट ब्याक हुन तयार छु–उहाले भन्नुभयो ।

जिल्लामा अहिले संघाई र विशाल समूहको घोराही सिमेन्ट र सोनापुर सिमेन्ट सञ्चालनमा छन् । चुनढुंगा खानी नजिकै रहेकाले ठूला उद्योग स्थापना भएका हुन् ।

वार्षिक ३ लाख ९२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योग दर्ता भई भौतिक पुर्वाधारको निर्माण कार्य जारी रहेको छ ।
कम्पनीले सम्राट ब्रान्डमा पिपिसी, ओपिसी र पिएससी सिमेन्ट बजारमा ल्याउनेछ ।

कम्पनीले वार्षिक रुपमा ओपिसी सिमेन्ट ९९ हजार मेट्रिक टन, पिपिसी सिमेन्ट २ लाख ६० हजार २ सय ८८ मेट्रिक टन र पिएससी सिमेन्ट ३३ हजार मेट्रिक टन उत्पादन गर्ने जानकारी दिएको छ ।

सबै लगानी स्वदेशी रहेको यो उद्योगमा ३ अर्ब २६ करोड स्थिर पुँजी रहने यो उद्योगमा २५ करोड चालु पुँजीसहित यो कम्पनीमा जम्मा तीन अर्ब ५१ करोड कुल लगानी रहेको छ । सिमेन्टका लागि १२ हजार केभिए क्षमता विद्युत लाग्ने उद्योगको भनाइ छ ।

उद्योगमा २ सय २० जना बढीले रोजगार पाउने सञ्चालक पाण्डेले जानकारी दिनुभयो । उद्योगले वार्षिक रुपमा ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट, ९० हजार मेट्रिक टन पिएससी सिमेन्ट र ३० हजार मेट्रिकटन ओपिसी सिमेन्ट उत्पादन गर्नेछ । नेपालमा अहिले चार दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

नेपालभित्र सिमेन्टको माग ४५ लाख टन छ । तर, उत्पादन भने ३५ लाख टन रहेको व्यवसायीहरु बताउँछन् । नेपालमा रहेका उद्योगको क्षमता झन्डै ६० लाख टन पुगे पनि उर्जा संकटले पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको विभिन्न अध्ययनले देखाएका छन् । पूर्ण क्षमतामा चल्न नसकेकाले भारतबाट १० लाख टन भन्दा बढी सिमेन्ट आइरहेको व्यवसायीहरु बताउँछन् ।