काठमाडौं, २९ जेठ । आफूलाई वामपन्थी भन्न रुचाउने नेकपा (एमाले)भित्र अर्कै रोचक गतिविधि हुने गरेका छन् । विशेष गरेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच घोँचपेच र रोचक प्रसङ्ग हुने गरेका हुन् ।
शनिबार बालुवाटारमा बसेको स्थायी समितिमा नेपाल समूहले प्रधानमन्त्री ओलीलाई अप्ठेरो पर्ने गरेर सूचना चुहाएपछि सबैभन्दा ठूलो वामपन्थी पार्टीभित्र भुइँचालो गएको हो ।
नेपाल समूहले आफू निकटका पत्रकारहरूलाई फोन गरेर प्रधानमन्त्रीले भन्दै नभनेका कुरा बैठकमा बोलेको भनेर चुहाएपछि आइतबार दिनभरि हँगामा भएको थियो । ‘सरकार परिवर्तन गर्न अमेरिका र भारत लागेका छन्’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीले बैठकमा राखेको भनेर नेपाल समूहले सम्प्रेषण गराएपछि यो वामपन्थी पार्टीभित्र खैलाबैला भएको हो ।
आइतबारका दिन एमाले मुख्यालय र प्रधानमन्त्रीको निवासमा बसेको स्थायी समिति बैठकले विज्ञप्ति जारी गरेरै अमेरिका र भारतका विषयमा केही नभनेको स्पष्टिकरण दिइएको थियो । यस्तो अवस्था ल्याउनुमा नेपाल समूह दोषी रहेको ओली पक्षको आरोप छ । यतिसम्मकी ओली पक्षले नेपाल समूहलाई कारबाहीको माग गरेको छ ।
आइतबार बसेको स्थायी समितिमा अध्यक्ष ओलीले बैठकभित्र बोल्दै नबोलेका विषय कसले सम्प्रेषण गरायो भन्दै आक्रोश व्यक्त गरिसकेका छन् । ओलीको आक्रोश रुक्ने संकेत नदेखेपछि वरिष्ठ नेता नेपालले बैठकका लागि एजेन्डा छन् भने पेश गर्नुस् होइन भने बकबास सुन्न मलाई फुसर्द छैन भनेपछि बैठकले अर्कै मोड लिएको थियो ।
नेपाल समूह किन ओली पक्षको दोहोलो काड्न लागेको छ ? प्रधानमन्त्री ओली पछिल्लो समय लोकप्रिय बन्दै गएका छन् । ओलीको लोकप्रियता बढेकोमा विपक्षी दल नेपाली कांग्रेसलाई भन्दा पनि नेपाल समूहलाई पटक्कै मन परेको छैन । सोही कारण नेपाल समूहले ओलीविरुद्ध आफू निकटका पत्रकारलाई फोनै गरेर समाचार टिपाएका हुन् । ओलीको लोकप्रियताले आफू कमजोर हुने नेपाल पक्षको बुझाइ भएका कारण ओली र नेपाल समूह एकअर्कालाई खुइलाउन सक्रिय भएका हुन् । नेपाल समूहलाई झलनाथ खनाल र बामदेव गौतमले साथ दिएका छन् ।
कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गिराउने खेलमा धोका दिएपछि रन्थनिएर बसेका सभापति शेरबहादुर देउवा अहिले ओली सरकार गराउने तर्फ खासै चासो देखाएका छैनन् । बरु देउवाले वामपन्थीहरूलाई फुटाएर आफ्नो उदेश्य पूरा गर्न सकिन्छ कि भने दाउ साँधेर बसेका छन् ।
एमालेभित्रकै लफडाले ओली सरकार धेरै अगाडि बढ्ने संकेत देखिदैन । माओवादी केन्द्रका नेताहरू पनि एमाले नेतृत्वको ओली सरकार बजेटपछि झन् लोकप्रिय भएकोमा चिन्तित छ । माओवादी केन्द्रका नेताहरूलाई सरकार गिराउन हतारो भइसकेको छ । कांग्रेस नेताहरू एमाले र माओवादी केन्द्रका नेताहरूको गतिविधिलाई नजिकबाट नियाली रहेका छन् ।
हुन त ओली सरकार तत्काल गिर्ने अवस्था नदेखेपछि अध्यक्ष दाहालले यही सरकारलाई नै मन्त्रीहरू परिवर्तन गरेर अगाडि बढाउने हो कि भनेर सोँच बनाएको स्रोतको भनाइ छ ।
विशेष गरेर गृह मन्त्री, आपूर्ति मन्त्री र शिक्ष मन्त्रीसँग अध्यक्ष दाहालका साथै प्रधानमन्त्री ओली खुसी छैनन् । यी तीन मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिने पक्षमा दाहाल रहेको ओली निकट एमाले स्रोतको दाबी छ । तर, माओवादी केन्द्रले पार्टीभित्र बिबाद उत्पन्न हुनेभन्दै अहिलेका मन्त्रीलाई नचलाउने पक्षमा देखिएको छ ।












प्रतिक्रिया