काठमाडौं, २८ जेठ । आफूलाई अमेरिकी राजदूतावासको कर्मचारीका रुपमा चिनाएर राजधानीमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफू अमेरिकी दूतावासको कर्मचारी भएकाले भूकम्प पीडित कोटामा प्रतिव्यक्ति चार लाख रुपैयाँ दिए अमेरिका पठाइदिने र भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै ठगी गर्ने ललितपुरको ठेचोका सिद्धार्थ कार्कीलाई महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार काठमाडौंको मुलपानीबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
कार्कीले रुपन्देहीका प्रकाश कार्कीसहित ६ जना विद्यार्थीलाई भूकम्प पीडित कोटामा अमेरिका पठाइदिने भन्दै कुल २ लाख ७८ हजार रुपैयाँ लिएर फरार भएका थिए ।
‘भूकम्प पीडित कोटामा प्रतिव्यक्ति ४ लाख भन्दा बढी खर्च नलाग्ने, आफू दुतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भनि प्रलोभनमा पारी प्रकाश कार्कीबाट ७६ हजार ५सय, मदन पोखरेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट जम्मा २ लाख ७८ हजार रुपैयाँ लिएर फरार रहेको पाइयो’ अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने- ‘ठगिएका विद्यार्थीहरुले हामीलाई इन्फर्म गरेपछि ठगी गर्दै हिड्ने कार्कीलाई समात्यौं ।’
कार्कीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।












प्रतिक्रिया