२५ कार्तिक २०८३, बुधबार

राजनीतिक लडार्इं समाप्त – गृहमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-basnet

नेपालगन्ज, २७ जेठ । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

कोहलपुर क्षेत्रअन्तर्गत महादेवपुरी, चिसापानी, कचनापुर, नौबस्ता, खासकुस्मा, वनकटुवा र शमशेरगन्ज गाविसका करिब दुई लाख मानिस इलाका प्रशासन कार्यालयको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो इलाका प्रशासन कार्यालयको गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज उद्घाटन गर्दै नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि बताउनुभयो ।

संविधान जारी भएपछि मुलुकको राजनीतिक लडाईं समाप्त भएको बताउँदै गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “सरकारले बजेटमार्फत ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ । यसमा कसैले रुवाबासी गर्नुपर्ने आवश्यकता छैन ।”

सो इलाका प्रशासन कार्यालयका लागि हाल एक शाखा अधिकृत, दुई जना नायब सुब्बा, एक सहलेखापाल, एक कम्प्युटर सहायक र दुई जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । रासस