१ कार्तिक २०८३, आइतबार

अनियमितता गर्ने जुनसुकै दलका नेता र सांसद भए पनि नछोड्ने – सभापति अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra Adhikari Umlकाठमाडौँ, २६ जेठ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको पाइए जुनसुकै राजनीतिक दलका नेता र सांसद भए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

व्यवस्थापिका–संसद् मातहतको उक्त समितिको आजको बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको प्रभावकारिताका विषयमा भएको छलफलपछि सभापति अधिकारीले कसैले पनि बजेटको दुरुपयोग गर्ने नियतले काम गरेको भेटिएमा कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिनुभयो ।

एक दुई जनाबाट भएको कमीकमजोरी र दोषको भागिदार सबै सांसद हुनुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिँदै उहाँले भन्नुभयो – “आफूले काम बिगार्ने, दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि अरुलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति हटाउनुपर्छ ।”

यसअघि बैठकमा सदस्यहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट अरु आयोजनाको लागत मूल्यको तुलनामा तीनगुना सस्तोमा गुणस्तरीय काम भएको जिकिर गर्दै एकाध घटनाबाहेक उक्त कार्यक्रमको बजेट अत्यन्तै प्रभावकारी रुपमा सदुपयोग भइरहेको धारणा व्यक्त गर्नुभयो ।

बैठकमा सुशासन महासङ्घ नेपालबाट सुनसरी, कास्की र सिन्धुपाल्चोकमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत विधि र प्रक्रिया पूरा गरेर सञ्चालन गरिएको आयोजनाको स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमा कार्यक्रमका लागि तयार गरिएका सबै मापदण्ड पूरा गरेर अत्यन्तै न्यून कार्यक्रम मात्रै अघि बढाइएको उल्लेख छ ।

महासङ्घले १४ वटा आयोजनाको निरीक्षण गरेकामा छ वटाले मात्र निर्धारित मापदण्ड पूरा गरेको उल्लेख गरेको छ ।

आयोजना निर्माणका क्रममा थाहै नभएका, एकपक्षीय तथा सर्वपक्षीय भए पनि उपभोक्ता मञ्चको नाममा बजेट अनियमितता गर्ने गरेका घटनासमेत फेला परेको विषयले समेत बैठकमा प्रवेश पाएको थियो । रासस