काठमाडौं, २६ जेठ । थरुहट संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा बसेर आफ्ना मागहरु पूरा गराउन दबाब दिने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार बसेको संघर्ष समितिको बैठकले थारु आन्दोलनकारीका मागका विषयमा सरकारसँग सहमति खोज्ने निर्णय गरेको सांसद तथा वार्ता टोली सदस्य रुक्मिणी चौधरीले जानकारी दिनुभयो । ‘सरकारले वार्ताका लागि आह्वान गरेर पत्र पठाएको थियो’, उहाँले भन्नुभयो, ‘पत्रलाई सकारात्मक रुपमा लिँदै वार्ता गर्ने आसयसहितको जवाफ सरकारलाई पठाएका छौँ ।’
सरकारले वार्ताका लागि आह्वान गर्दै थारु आन्दोलनकारीलाई जेठ २५ गते पत्र पठाएको थियो । सोही पत्रका विषयमा छलफल गर्न थारु कल्याणकारिणी सभासहितका आन्दोलनकारी थारु आबद्ध दल र संघसंस्थाको बैठक बसेको थियो ।
थारु आन्दोलनकारीले सरकारलाई बुधबार नै वार्ताका लागि तयार रहेको पत्र पठाएको छ । सोही पत्रका आधारमा शुक्रबारसम्ममा सरकार र थारु आन्दोलनकारीबीच वार्ता हुने तयारी भएको सांसद चौधरीले बताउनुभयो ।
थारु कल्याणकारिणीका अध्यक्ष तथा संयुक्त संघर्ष समितिका संयोजक धनीराम चौधरीको नेतृत्वमा वार्ता समिति पनि रहेको छ । सो समितिका सदस्यहरुमा रुक्मिणी चौधरी, किशोर विश्वास, राजकुमार लेखी र रमेश चौधरी रहेका छन् ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनमा गोपाल दहितको पार्टी सहभागी भएर आन्दोलन थालेपछि थारुहट संयुक्त संघर्ष समितिले कारबाही गरेर निष्कासित गरिसकेको छ । यो वार्ता टोलीमा दहितको समूह रहने छैन ।













प्रतिक्रिया