काठमाडौं, २६ साउन । पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट तत्काल नेपाल नफर्कने भएका छन्।
अहिलेसम्म स्टुडेन्ट भिसामा बस्दै आएका उनले अब बिजनेस भिसा अप्लाई गरेका छन्। आगामी बुधबार पारसको बिजनेस भिसा लाग्ने उनका सहयोगीले जानकारी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। स्टुडेन्ट भिसाको म्याद २१ साउनमा सकिएको थियो।
म्याद सकिनुअघि नै उनले बिजनेस भिसाका लागि १६ साउनमा निबेदन दिएका थिए। पारसको भिसा प्रक्रिया मिलाउन उनका साथी राजेश सिह केहि दिनअघि नै बैंकक गएका थिए। भिसाका लागि कागजात मिलाउने काम सिंहले नै गरेका छन्।
थाइल्याण्डमा रहेका नेपालीले भिसाका लागि पारसलाई सहयोग गरेको उनका साथीहरुको भनाई छ। स्रोतका अनुसार भिसा थपिने भएपछि पारस उनकी थाइ प्रेमिका कन्निकाको घरमा गएका छन्।
पारसको लागुपदार्थसम्बन्धी मुद्दामा २ भदौमा थाइल्यान्डको अदालतमा सुनवाइ हुँदै छ । सुनुवाइका लागि यसअघि १९ साउनमा अदालतले बोलाएको थियो । तर, उनी अदालतमा ढिलो पुगेपछि उनका वकिलहरूले म्याद थप गर्न आग्रह गरेका थिए । वकिलको आग्रहपछि अदालतले सुनुवाइ मिति २ भदौका लागि तोकेको हो । गाँजा सेवन गरेको अभियोगमा पक्राउ परेका उनी ६५ हजार थाई भाट धरौटी बुझाएर छुटेका थिए ।
पारस बैंकक बस्न थालेको चार वर्ष हुँदै छ । ११ भदौ ०६७ मा उनी बैंकक गएका थिए । उनले नेपाल आउने सन्देश पठाएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल निर्मलनिवास छोडेर नागार्जुन सरेका छन् । पारस तत्काल नआए पनि उनीहरू दसैँसम्म नागार्जुन नै बस्ने भएका छन् ।
















प्रतिक्रिया