२५ कार्तिक २०८३, बुधबार

चिनियाँ राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमण गर्नेः चिनियाँ सेना उपप्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping_2399584k

काठमाडौँ, २५ जेठ । चिनियाँ सेनाका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले चिनियाँ राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

चार दिने नेपाल भ्रमणमा आएका चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख छियाङ्गुओले आफ्नो १३ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावललाई भेटी निकट भविष्यमा चीनका राष्ट्रपति सीद्वारा नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको जानकारी गराउनुभयो ।

रक्षा मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार भेटवार्ताका अवसरमा चिनियाँ सेना उपप्रमुख छियाङ्गुओले उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत आमन्त्रण गर्नुभयो ।

रावलद्धारा चीनप्रति आभार व्यक्त

Rawal-meet-china-team

यसैबीच चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्तामा नेपालको संविधान जारी भएपछि त्यसप्रति मित्रराष्ट्र चीनबाट भएको स्वागत तथा समर्थनका लागि चीन सरकारप्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले आभार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गर्नुभयो । गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद दिँँदै उहाँले त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुन छियाङ्गुओले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गर्दै चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको कुरा उल्लेख गर्नुभयो ।

चीनले अपनाएको एक बेल्ट एक सडकको नीतिअनुरुप सडक, यातायात र रेलमार्गबाट नेपालले फाइदा लिन सक्ने र चीन त्यस्तो सहयोग विस्तार गर्न तत्पर रहेको कुरा एडमिरल सुन छियाङगुओले उल्लेख गर्नुभयो ।