२५ कार्तिक २०८३, बुधबार

अम्बर गुरुङ कहिल्यै ननिभ्ने ताराः प्रम ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङलाई ‘सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने तारा’ भन्नुभएको छ ।

मंगलबार गुरुङको निधनमा शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जति गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने गुरुङको खुवीले उहाँले संगीत भरेका गीतलाई नेपाली सांगीतिक क्षेत्रमा कालजयी बनाएको बताउनुभयो ।

गुरुङको प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘स्वर्गीय गुरुङ शीर्षस्थ संगीतकार मात्र होइन, कुशल शब्दसर्जक, गायक, संगीत शिक्षक र संगीत अध्येता पनि हुनुहुन्थ्यो ।’

आफ्ना सिर्जनाहरुबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई गुण लगाउनुभएको भन्दै प्रम ओलीले उहाँको गुण मुलुकले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ ।

यस्तो छ प्रधानमन्त्रीको शोक वक्तव्यः

नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता तथा नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधनले मलाईं स्तब्ध तुल्याएको छ । उहाँको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दछु । स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकको यस घडीमा उहाँका परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछु । उहाँको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

‘नौलाख तारा उदाए’ गीतमा उहाँले भरेको संगीतबाट स्वर्गीय अम्बर गुरुङ स्वदेशमा मात्रै होइन, विदेशमा पनि चर्चाको केन्द्रमा पुग्नुभयो । सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुग्यो । ‘रातो र चन्द्र सूर्य’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर्गीय गुरुङले भरेको संगीतले उहाँको फैलावट झनै बढाएको थियो ।

स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोकभाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिनु भएको थियो । सामुहिक बाजा प्रयोगमार्फत नेपाली सुगम संगीतलाई स्तरीय र समृद्ध बनाउन उहाँले गर्नुभएको योगदान नेपाली संगीतको क्षेत्रमा मानकका रुपमा स्थापित छ । जति गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने उहाँको खुवीले उहाँले संगीत भरेका गीतलाई नेपाली सांगीतिक क्षेत्रमा कालजयी बनाए ।

स्वर्गीय गुरुङ शीर्षस्थ संगीतकार मात्र होइन, कुशल शब्दसर्जक, गायक, संगीत शिक्षक र संगीत अध्येता पनि हुनुहुन्थ्यो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिकल्पनाकार अम्बर गुरुङ सो प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति पनि हुनुहुन्थ्यो ।

भारतको दार्जिलिङमा बिसं १९९४ मा जन्मेर नेपाली गीत संगीतको उन्नयनमा जीवन व्यतित गर्नु भएका स्वर्गीय अम्बर गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाहरुबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने छ ।