२ कार्तिक २०८३, सोमबार

प्रचण्ड र बाबुरामबीच सहमति, कारबाही फिर्ता लिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-prachanda

काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादीले विभिन्न जिल्लामा गठन भएका समानान्तर जिल्ला समिति तत्काल विघटन गरी नयाँ जिल्ला समिति गठन गर्ने भएको छ ।

पार्टीको वैचारिक विवाद समाधान समितिको आइतबार वरिष्ठ नेता डा बाबुराम भट्टराईको निवास सानेपामा बसेको बैठकले समानान्तर जिल्ला समितिले पार्टी नेता तथा कार्यकर्तामा अन्योलको स्थिति पैदा भएको भन्दै सो कार्य रोक्ने निर्णय गरेको हो । बैठकले वैचारिक तथा साङ्गठनिक समस्या सुल्झाउन दुवै पक्षले आफ्ना गतिविधि तत्काल रोक्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजान मार्ग प्रशस्त गर्ने निष्कर्ष निकालेको उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो ।

‘‘पार्टीभित्र देखिएका सबैखाले विवाद हल गर्न अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा भट्टराई सहमत हुनुभएको छ । यही साउन १९ गते स्थायी समितिले केही नेतामाथि गरेको कारबाही पनि फिर्ता लिने सहमति भएको छ ।’’ उपाध्यक्ष बोगटीले भन्नुभयो ।

नेता डा भट्टराई पक्षले पार्टीभित्रको बहस व्यक्तिगत तथा पदीय भागबन्डाको निम्ति नभई विचार र साङ्गठनिक रूपान्तरणका लागि भएको भन्दै विवाद बल्झाउने पक्षमा आफू नरहेको धारणा राख्नुभएको अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उपाध्यक्ष श्रेष्ठले शनिबार मात्रै पार्टीलाई फुटबाट जोगाउनका लागि छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता ल्याउन तथा कुनै गुटमा नलागी परम्परागत विशेषाधिकार भएको अहम् त्याग्न अध्यक्ष दाहाल र वरिष्ठ नेता डा भट्टराईलाई सुझाव दिनुभएको थियो ।