
– सुदीप अधिकारी
बर्दिया, २३ जेठ । ४४ औँ विश्व वातावरण दिवसको अवसरमा आइतबार बर्दियाका स्कूले बालबालिकालाई चरा अवलोकन गराइएको छ ।
नेपाल पंछी संरक्षण संघले बर्दियाले बालबालिकालाई चरा अवलोकन गराएको हो ।
बर्दिया एजुकेशन एकेडमी स्कूलमा अध्ययनरत बालबालिकालाई पंछी संरक्षण संघले बर्दिया राष्ट्रिय निकुञ्जको परेवावडार क्षेत्रमा चरा अवलोकन गराइएको थियो । निकुञ्ज भित्र पर्ने बबईको परेवावडारदेखि सैनवार पोष्टसम्म करिव ५ किलोमिटर क्षेत्रमा विद्यार्थीहरुले विभिन्न प्रजातिका चराहरु अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा विद्यार्थीहरुले ४६ प्रजातिका चरा देखेको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् । फिल्ड कोडिनेटर गुरुगका अनुसार विद्यार्थीहरुले गाजले पिट्टा, कण्ठे सुगा, खोले हुटिट्याउ, सानो माटिकोरे, कंकिर, काफल पाक्यो, कृष्णकण्ठे हरिचरी लगायतका रैथाने चरा दखेका थिए ।

वातावरणको पारिस्थितीक प्रणालीमा चरा–पंछीको महत्वपूर्ण भूमिका रहको मानिन्छ । चराहरु पनि वातावरणको अभिन्न अंग भएकाले यिनीहरुको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले निकुञ्ज क्षेत्रमा चरा अवलोकन गराइएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् ।
नेचर गाइड राजन चौधरी र रेशम थापाले बालबालिकालाई चराहरुको नाम, प्रजाति, बासस्थान र आनीबानीको बारेमा जानकारी गराएका थिए । केही व्यक्तिहरुले अझैपनि चराको महत्व नबुझि चरा मार्ने, चराका गुड भत्काउने जस्ता नराम्रा गतिविधी गर्ने गरेकाले त्यस विरुद्ध बालबालिकाहरु एकजुट भएर चरा संरक्षणमा लाग्न गाइड चौधरी बालबालिकालाई अनुरोध गरेका थिए ।
चरा अवलोकन गर्ने अवसर पाएकोमा बालबालिकाहरु निकै उत्साहित भएका थिए । ‘ चराको बारेमा यती धेरै जानकारी थिएन । चरा अवलोकन गर्दा धेरै जानकारी पाइयो । निकै खुशी लागेको छ,’ चरा अवलोकनमा सहभागी विद्यार्थी शिक्षा खनालले बताइन् ।
नेपालमा ८ सय ७८ प्रजातीका चरा पाइन्छन् । यसमध्ये बर्दियामा ४ सय ७३ प्रजातीका चरा पाइन्छन् ।
















प्रतिक्रिया