काठमाडौं, २३ जेठ । सत्तारुढ दल नेकपा (एमाले)ले स्थायी कमिटीको शनिबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भन्नुभएको भनेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
एमालेका सचिव प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गरेर नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा मित्र राष्ट्रहरूको सदैव सद्भाव रहँदै आएको बताउनुभएको छ । ‘विनाशकारी भूकम्पपछि उद्दार तथा राहत कार्यमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, पुनर्निर्माणमा व्यक्त उदारमना सहायता एवम् संविधान कार्यान्वयनमा निरन्तर समर्थनले नेपाललाई कठिन समयमा पनि अगाडि बढ्ने भरोसा प्राप्त भएको छ’, सचिव ज्ञवालीले भन्नुभएको छ ।
वर्तमान सरकार संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका निम्ति छिमेकी मित्रहरूलगायत सबै मित्र राष्ट्रहरूबाट अझ फराकिलो साथ र सहयोग प्राप्त हुने विश्वासका साथ सहकार्यमा रहेको एमालेले जनाएको छ । ‘यस सन्दर्भमा केही समय अगाडि देखापरेका कयौं असहजताहरू पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम प्रारम्भ भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यथार्थ यस्तो हुँदाहुँदै पनि प्रधानमन्त्रीको भनाइ भन्दै सरकार परिवर्तनमा अमेरिकालगायत मित्रराष्ट्रहरूलाई आरोपित गर्दैै प्रकाशन गरिएका समाचारहरू पूर्ण रूपले निराधार, कपोलकल्पित र मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्धलाई बिगार्ने सुनियोजित उद्देश्यले प्रेरित देखिन्छन्’, एमालेले भनेको छ, ‘एमाले यस्ता भ्रामक समाचारलाई खण्डन गर्दछ र सञ्चार माध्यमहरूलाई यस्ता संवेदनशील बिषयमा समाचार बनाउँदा पार्टीको आधिकारिक निकायसँग सत्यताको परीक्षण गरेर मात्र सम्प्रेषित गर्न आग्रह गर्दछ ।’
स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका र भारत नेपाली विरुद्ध लागेको भन्ने समाचार सम्प्रेषण भएपछि एमालेले सो विषयको खण्डन गरेको हो ।












प्रतिक्रिया