काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था बुझ्न आज ग्रान्डी अस्पताल जानुभएको छ ।
सरकारका प्रवक्ता राईले उहाँलाई ‘राष्ट्रगायक’ को पदबाट विभूषित गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि प्रधानमन्त्रीसँग सल्लाह गरिने बताउनुभयो । मन्त्री राईले उपचारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले जानकारी दिनुभयो ।
भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ सोही अस्पतालमा उपचार गराइरहनुभएको छ । सघन उपचार कक्षमा राखिनुभएका गुरुङको स्वास्थ्य स्थिर रहेको बताइएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गुरुङ केही वर्षदेखि अस्वस्थ्य हुनुहुन्छ ।
उहाँको स्वास्थ्य अवस्थाका बारे थप जानकारी लिन साहित्यकार, सङ्गीतकर्मी लगायतको अस्पतालमा सहभागिता बढेको छ । रासस
















प्रतिक्रिया