
काठमाडौं, २२ जेठ । मधेसी मोर्चासहितका दलहरू आबद्ध रहेको संघीय गठबन्धनले खुलामञ्चमा सुरू गर्न लागेको रिले अनशनको पहिलो दिन सबै दलका शीर्ष नेताहरू बस्ने निर्णय गरेको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले रिले अनशनको पहिलो दिन जेठ– २५ गते शीर्ष नेताहरू अनशनमा बस्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता तथा गठबन्धनको सचिवालय सदस्य केशव झाले जानकारी दिनुभयो ।
‘जेठ– २५ गतेदेखि खुलामञ्चमा रिलेअनशन गर्दै छौँ, पहिलो दिन सबै शीर्ष नेताहरू सहभागी हुने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘प्रत्येक दिन कम्तिमा एक जना शीर्ष नेताले रिले अनशनलाई सम्बोधन गर्ने छौँ ।’
रिले अनशनका बेला ३ बजेदेखि ५ बजेसम्म सांस्कृतिक कार्यक्रम र ५ बजेदेखि ७ बजेसम्म सम्बोधनको कार्यक्रम राखिएको रामसपाका प्रवक्ता झाले बताउनुभयो । अनशन बिहान ७ देखि बेलुका ७ बजेसम्म चल्नेछ ।
रिले अनशनलाई व्यवस्थित बनाउन गठबन्धनले नेवाः राज्य समितिलाई जिम्मेवारी दिएको छ । युवा विद्यार्थीले अनशनस्थलमा स्वयं सेवकको रुपमा काम गर्ने छन् ।
संविधान पुनर्लेखनको माग राखेर आन्दोलनमा उत्रिएको गठबन्धनले जेठ– २५ गतेदेखि असार मसान्तसम्म खुलामञ्चमा रिले अनशन गर्दैछ ।












प्रतिक्रिया