१० कार्तिक २०८३, मंगलबार

यस्तो बन्दै छ १० वर्षपछि काठमाडौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu-660x330काठमाडौं, २२ जेठ । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ ।

पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ ।

तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ ।

प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ ।

पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ ।

काठमाडौं उपत्यकाका घरघरमा १६ महिनाभित्रै मेलम्चीको खानेपानी पुग्नेछ । मेलम्ची खानेपानी विकास समितिका अनुसार ०७४ मा पानी उपत्यका भित्रिनेछ । सुरुङ खन्ने काम दु्रतगतिमा अघि बढेको छ । हालसम्म दुई किलोमिटर एक सय ८५ मिटर सुरुङ खनिएको छ । औसतमा प्रतिदिन ३० मिटर सुरुङ खन्ने काम भएको छ ।

समितिका अनुसार सुन्दरीजलदेखि सिन्धुघाँटीसम्मको सुरुङ सन् ०१६ मै सकिनेछ । अम्बाथान–सिन्धुघाँटीसम्मको सुरुङ ०१७ को फेबु्रअरीमा सकिनेछ । योजनाअनुसार काम अघि बढे सन् ०१७ को मेसम्ममा सुरुङ निर्माणको सबै काम सकिएर मेलम्चीको पानी काठमाडौं पुग्नेछ ।

व्यवस्थित यातायात तथा चक्रपथ उपत्यकामा बन्ने तीनवटै स्याटलाइट सिटीमा ‘मास र्‍यापिड ट्रान्सफर सिस्टम’ निर्माण हुनेछ । प्रत्येक सडक व्यवस्थित हुनेछन् । सडकमा अत्याधुनिक तथा सुविधासम्पन्न यातायातका साधन मात्र सञ्चालन हुनेछन् । यातायात साधन सञ्चालनका लागि वैज्ञानिक तवरले रुट परमिटको व्यवस्था गरिनेछ । यसका लागि उपत्यकाका भित्री सडक चौडा गरिनेछ ।

निर्माणाधीन भित्री चक्रपथसमेत निर्माण सकिनेछ । चक्रपथ आठ लेनको हुनेछ । बीचभागमा बगैँचा र दुवै किनारमा ग्रिनरी बेल्ट निर्माण हुनेछ । ठाउँ–ठाउँमा ओभरहेड ब्रिज निर्माण तथा आवश्यक स्थानमा सब–वेको व्यवस्था गरिनेछ । यस योजनाकै कोटेश्वर–कलंकीसम्मको १० किमि सडक दु्रतगतिमा निर्माण हुँदै छ । कलंकी–बालाजुसम्मको सडकको डिपिआर तयार हुँदै छ ।