२५ कार्तिक २०८३, बुधबार

संसदमा समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या र तिनको समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले हालैको ठूलो बाढीबाट काभ्रेका विभिन्न क्षेत्रका साथै बनेपासमेत प्रभावित भएको बताउँदै उक्त जिल्लामा नदी व्यवस्थापनमा सघाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद रामहरि सुवेदीले पुनःनिर्माणका काम प्रभावकारी बनाउन र अनुदान रकम पाउन छुटेका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नाम छुटेकालाई अनुदान एवम् राहत प्रदानको सूचीमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद प्रेम सुवालले केही व्यक्तिले मध्यपुरथिमि नगरपालिका भएर बग्ने मनहरा खोला आफ्नो स्वार्थ बमोजिम फर्काउने प्रयास गरेकाले कारबाहीको माग गर्दै घरबास नहुँदा भूकम्पपीडितको बिचल्ली भएको दुःखेसो गर्नुभयो ।

सांसदद्वय रामहरि खतिवडा र हर्कबोल राईले ओखलढुङ्गामा बुधबार भएको ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई रु १० लाख दिन माग गर्नुभयो । साथै भूकम्पपीडितले अझै राहत रकम नपाएकाले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअघि सांसद डिम्पलकुमारी झाले मधेस केन्द्रित एवम् आदिवासी जनजाति दल सम्बद्ध सांसदले आजको सदनको बैठक बहिष्कार गर्ने घोषणा गर्नुभयो । उहाँको उक्त घोषणासँग सम्बद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिनुभयो । रासस