दाङ, १८ जेठ । लक्ष्मीपुर गाविसको गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसी सगरमाथा सिमेन्ट गुणस्तरहिन भएपछि नेपाल गुणस्तर तथा नापतौल बिभागले विक्रिमा रोक लगाएको घटनामा स्थानीय प्रशासनले मौनता साँधेको छ ।
विभागले उद्योगलाई उत्पादन बन्द गर्न र परिक्षण गर्दाका दिन बजारमा गएको सिमेन्ट फर्काउनका लागि दिएको निर्देशनको पालना नगरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सोधेको स्पष्टिकरणको जवाफ नदिएको उद्योगले बजारमा पठाएको गुणस्तर हिन सिमेन्ट बजारबाट फर्काएको छैन ।
घोराही सिमेन्ट उद्योगमै आएर गुणस्तर तथा नाप तौल विभागले ओपिसी सिमेन्टको नमूना जाँच गरेको थियो । नमूना जाँचका क्रममा सिमेन्टको गुणस्तर नभएको पाइएपछि विभागले गत बर्ष २०७२ चैतको ३० गतेका दिन घोराही सिमेन्ट इन्डष्ट्रिजलाई स्पष्टिकरण पत्र पठाएको थियो ।
यसरी पठाइएको स्पष्टिकरण पत्रमा स्पष्ट रुपमा २०७२ चैत ३० गतेको मितिमा घोराही सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि.लाई बिभागले माघ १२ गते अनुुगमन गर्दा संकलित ओपीसी सिमेन्टको नमुना प्रयोगशालामा परिक्षण गराउदा नतिजामा Insoluble Residue / Mangnesia को मान नेपाल गुुणस्तर २०४९ अनुरुप नदेखिएकाले सो मितिमा उत्पादित सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता गर्न भनिएको छ । विभागले उद्योगलाई स्पष्ट रुपमा आफ्नो उत्पादन ओपीसीको बिक्री बितरण बन्द गर्न र नेपाल गुणस्तर प्रमाण चिन्ह नियमाबली २०४९ को नियम १६ बमोजिम कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको थियो ।
विभागले १५ दिन भित्र लिखित स्पष्टिकरण माग गरेको भएपनि उद्योगले डेढ महिनासम्म स्पष्टिकरण दिने त टाढाको पत्र नै नपाएको कुरा गरिरहेको छ ।
सिमेन्ट उद्योगलाई दिइएको पत्र राप्ती पोष्टसंग सुरक्षित रहेको छ । बिभागले घोराही सिमेन्ट उद्योगलाई आफ्नो सबुत सहित सुधारका लागि लिने करेक्टीभ एक्सन सहित १५ दिन भित्र बिभागमा स्पष्टिकरण पेश गर्न ०७२ चैत ३० को निर्णय अनुसार जानकारी गराइसकेको थियो ।
उत्पादन बन्द गराउनका लागि गरिएको पत्राचार बारेमा आफूलाई जानकारी नभएको र आफूले बुझ्ने दाङका सहायक प्रमुख जिल्ला अधिकारी भरतवहादुर बुढाथोकीले राप्ती पोष्टलाई बताउनुभयो । “पत्र आएको छ कि छैन, आएको भए कता परेको छ के छ म बुझ्नेछु । सिडियो सापलाई पनि सोध्छु ।” उहाँले भन्नुभयो । गुणस्तर विभागले स्पष्ट रुपमा उत्पादन रोक्नका लागि भन्दा भन्दै पनि गुणस्तरहिन सिमेन्ट बजारमा पठाएको दावी जानकारहरुको छ ।
उद्योगले गुणस्तरहिन सिमेन्ट बजारमा पठाउँदा उपभोक्ता ठगिने काम भइरहेको छ । यो कुरामा स्थानीय प्रशासनले चासो दिनुपर्ने धारणा आम रुपमा उठन थालेको छ ।















प्रतिक्रिया