सुरेन्द्रबहादुर नेपाली
काठमाडौँ, २४ साउन । हालै चीन तथा स्विजरल्यान्डबीच दुई पक्षीय मुद्रा सटहीका लागि सम्झौता भएको छ र यसले चीनको रेनमिन्बीको अन्तर्राष्ट्रिय रूपमा प्रयोगलाई अझै विस्तार गर्ने अपेक्षा गरिएको छ । स्विजरल्यान्डले आफूलाई पनि चिनियाँ मुद्रा सटहीको केन्द्र बनाउने आशा गरेको छ र यस सम्झौताले उसलाई सहयोग गर्ने अनुमान गरिएको छ ।
बेइजिङमा पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर तथा स्विस नेसनल बैङ्कका अध्यक्षले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौताले दुबै मुलुकलाई १५० अर्ब आरएमबी तथा २१ अब स्विस फ्याङ्क सटही गर्ने सुविधा दिएको छ ।
द फाइनान्सियल टाइम्सको अनलाइन संस्करणमा यसै वर्षको आरम्भमा पिपुल्स बैङ्क अफ चाइनाले फ्राङ्कफर्टमा बन्डेसब्याङ्कसँग र लन्डनमा ब्याङ्क अफ इङल्यान्डसँग पनि यस्तै प्रकारको सम्झौता गरेको समाचार प्रकाशित छ । यसले यी दुबै केन्द्रमा चिनियाँ मुद्रामा व्यापार सम्पन्न गर्न सजिलो बनाउनेछ । आइसल्यान्ड र स्वीजरल्यान्डले मात्र युरोपमा चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेका छन् । स्वीजरल्यान्डसँगको यस सम्झौताले विदेशमा रेनमिन्बीको प्रयोगमा विस्तार हुने धारणा पिपुल्स बैङ्क अफ चाइनाले राखेको छ ।
हाल विश्वमा प्रतिदिन पाँच हजार अर्ब अमेरिकी डलर बराबर विदेशी मुद्रा सटही हुने अनुमान गरिएको छ र त्यसमा रेनमिन्बीको भाग एक प्रतिशतभन्दा केही बढी मात्र भएको बताइएको छ । यसो भए पनि चिनियाँ मुद्रामा सटही विस्तारै बढ्न थालेको देखिएको छ । चीनले विश्वका २५ वटा केन्द्रीय बैङ्कसँग रेनमिन्बीमा दुई पक्षीय मुद्रा सटही गर्ने सम्झौता गरेको छ ।
वास्तवमा यी सम्झौताले ती बैङ्कलाई रेनमिन्बीको ती देशका मुद्रासँग सटहीको मार्ग विस्तार गरेपनि त्यसको प्रयोग भएको देखिएको छैन तर वित्तीय सङ्कटको अवस्थामा यो उपयोगी औजार हुने ठानिएको छ । सन् २००८ मा अमेरिकी डलरमा कारोबार गर्नुको लागत बढेको थियो र धेरै बैङ्कहरूको चीनसँगको कारोबार घटेको थियो । यसले चीनको विदेश व्यापार घटेको थियो । चीनसँग मुद्रा सटहीको सम्झौताले व्यापारका लागि डलरमा भर पर्नुपर्ने उनीहरूको बाध्यतालाई कम गर्ने ठानिएको छ ।
सम्झौताअनुसार उनीहरूले १५ अर्ब रेनमिन्बी तथा दुई अर्ब स्विसफ्र्याङ्क बराबर अन्तरबैङ्क धितोपत्रमा लगानीगर्नसक्ने व्यवस्था गरेका छन् । यसले विदेशी मुद्राको सञ्चितिलाई विविधीकरण गर्न सहयोग गर्ने आशा स्विस नेसनल बैङ्कले गरेको छ । स्वीजरल्यान्डको विदेशीमुद्रा सञ्चिति ४५२ अर्ब बराबर रहेको अनुमान गरिएको छ र यसको २६ प्रतिशत डलरको रूपमा आठ प्रतिशत यनको रूपमा र सात प्रतिशत पाउन्ड स्टर्लिङको रूपमा रहेको बताइएको छ ।
चीनले आफ्नो पूँजी बजार विदेशी लगानीका लागि विस्तारै खुला गर्दै गएको छ र विदेशी संस्थाहरूले चिनियाँ घरेलु बजारमा ४३७ अर्ब रेनमिन्बी बराबर धितोपत्र आफूसँग कायम गरेको बताइएको छ ।
हालै विश्वबैङ्कको अन्तर्राष्ट्रिय तुलनात्मक कार्यक्रमले चीन अमेरिकालाई उछिनी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेको थियो । सन् २००८ को मन्दीपछि चीनको निर्यातमा ह्रास आउनुमा डलर ब्यापार माध्यम रहेको धारणा धेरै चिनियाँ व्यापारीको छ र उनीहरूले रेनमिन्बीले यस अवसरमा डलरलाई प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता बनाएका छन् ।
केही समय अगाडि लगानी संस्थाहरूबीच गरिएको एक अभिमत सर्वेक्षणमा चिनियाँ युआनले अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिमा अमेरिकी डलरलाई उछिन्ने धारणा अगाडि आएको थियो । यस अभिमत सर्वेक्षणमा चीनमा केन्द्रीय कार्यालय रहेका १०० तथा अन्य स्थानमा केन्द्रीय कार्यालय रहेका १०० लगानी संस्थाहरूलाई समावेश गरिएको थियो । स्ट्रेट स्ट्रिट तथा इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले प्रकाशन गरेको यस सम्बन्धी एक प्रतिवेदनमा ५३ प्रतिशत लगानीकर्ताहरूले विश्वको प्रमुख मुद्रा सञ्चितिमा चिनियाँ रेनमिन्बीले अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने धारणा व्यक्त गरेको उल्लिखित छ ।
यससम्बन्धमा चीनमा अपेक्षा निकै बढी छ । चीनमा केन्द्रीय कार्यालय रहने ६२ प्रतिशत लगानी संस्थाले विदेशी मुद्रा सञ्चितिमा हरियो नोटलाई रातो नोटले प्रतिस्थापन गरेको देख्न चाहेको सर्वेक्षणमा देखिएको । चीन बाहिरका संस्थामा यस्तो अवधारणा ४३ प्रतिशतले राखेको देखिएको छ ।
प्रतिवेदनमा चीनको आर्थिक प्रभाव बढिरहेको अवस्थामा उसको मुद्रा रेनमिन्बीको महत्व बढ्ने र दशकौँसम्म अमेरिकी प्रभावमा रहेको हरियो नोटको स्थानमा रातो नोटले विश्व सञ्चितिमा प्राथमिक मुद्राको रूपमा प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा यसको सम्भावना बढिरहेको पनि उल्लेख गरिएको छ ।
युरोपेली केन्द्रीय बैङ्कका प्रमुख व्यक्तित्वहरू पनि यस विषयमा सहमत भएको देखिएको छ । उनीहरूको विचारमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानीमा चीनको अंश बढिरहेको अवस्थामा उसको युआनको महत्व पनि बढ्ने र यसले अमेरिकी डलरलाई चुनौती दिनसक्नेछ । यसो भए पनि चीनको नियन्त्रणात्मक प्रणाली र कडा रूपमा नियन्त्रणमा रहेको युआन (रेनमिन्बीको आधारभूत एकाइ) ले कहिल्यै डलरको स्थान लिननसक्ने धारणा पनि बलियो नै छ ।
सीएनबीसीमा अनसुया हर्जानीले २०१३ को अन्त्यसम्म रेनमिन्बी दोस्रो सबैभन्दा ठूलो व्यापारिक वित्तीय मुद्रा बनेको र विश्वव्यापी भुक्तानीमा यो नवौँ सबैभन्दा प्रचलित मुद्रा बनेकाले कडा रूपमा नियन्त्रण गरिए पनि रेनमिन्बीको विश्वव्यापी प्रयोग निरन्तर रूपमा व्यापक भइरहेको बताउनुभएको छ ।
युआनले ठूलो भूमिका प्राप्त गर्न चीनले आफ्नो वित्तीय नीतिलाई उदार राख्नु, सटही दरमा हस्तक्षेप कम गर्नु, ब्याजदरलाई उदार बनाउनु तथा पूँजी प्रवाहलाई बढी उदार बनाउनु आवश्यक भएको उहाँको धारणा छ । यसैले यस अभिमतमा भाग लिने दुई तिहाइ सहभागीले बेइजिङले आफ्नो वित्तीय उदारीकरणको काम १० वर्षमा सम्पन्न गर्नुपर्ने र प्रमुख सुधार पाँच वर्षमा सक्याउनुपर्ने माग गरेका छन् ।
चीनमा सन् २००९ मा वित्तीय उदारीकरण आरम्भ भएको छ र सरकारले अन्तरसीमा व्यापारमा रेनमिन्बीलाई भुक्तानीको माध्यमको रूपमा राख्न अनुमति दिएको छ । गत वर्ष चिनियाँ सरकारले साङघाइलाई स्वतन्त्र व्यापार क्षेत्र घोषणा गरेको थियो र त्यहाँ युआनलाई पूर्णतया परिवर्तनीय मुद्राको स्थान दिइएको छ । यसो भए पनि अन्तरसीमा मुद्रा प्रवाहको सीमाका कारण अझै यसको क्षेत्र सीमित भएको धारणा सर्वेक्षणमा भाग लिनेहरूको छ ।
वास्तवमा मुद्रा सञ्चिति कुनै पनि सरकारले अन्तर्राष्ट्रिय व्यापारका लागि उपयोग गर्न राख्ने गरेको विदेशी मुद्रा कोष हो । यसैले सञ्चिति मुद्रा जारी गर्ने मुलुकका नागरिकले अन्य मुलुकका जनताको तुलनामा सस्तो रूपमा आयात गर्न सक्ने अपेक्षा गरिएन्छ । यसैले विश्वका प्रमुख अर्थशास्त्रीहरूले यस्तो प्रभाव कायम गर्ने मुलुकका जनताले उपभोग गर्ने सुविधा निकै अधिक भएको बताएका छन् ।
हाल अमेरिकी डलर तथा युरोले विश्वको कूल मुद्रा सञ्चितिमा ९० प्रतिशत भाग ओगटेका छन । सन् २०१४ सम्म पनि अमेरिकी डलर विश्वको सबैभन्दा ठूलो सञ्चिति मुद्रा बनेको विकिपेडियाले उल्लेख गरेको छ । यसैले विश्वभरबाट डलरको आवश्यकता देखिएकाले अमेरिकी सरकारले आफ्ना नागरिकलाई सस्तो ब्याजदरमा ऋण दिनसक्ने अवस्था सिर्जना भएको बताइएको छ । यस्तो सुविधा प्रति वर्ष एक सय अर्ब अमेरिकी डलरसम्म पुग्ने अुनमान गरिएको छ ।
यसैले पनि रसियाली तथा चिनियाँ नेताहरूले सार्वभौमसत्ताभन्दा माथिल्लो सञ्चिति मुद्रा हुनुपर्ने धारणा राखेका छन् भने यस्तै छलफल युरोपमा पनि हुनेगरेको छ ।
अर्कोतिर अपरम्परागत मौद्रिक नीतिको उपयोग गरी अमेरिकाले आफ्नो मुद्रालाई उपयोग गरिरहे रेनमिन्बीले अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिमा डलर उछिन्ने धारणा व्यक्ति गर्ने अर्थशास्त्रीहरूको सङ्ख्या अमेरिकामै बढ्न थालेको देखिएको छ । उनीहरूले अमेरिकी वित्तीय बजार असुरक्षित भएको अनुभव गर्न थालेपछि विदेशी मुद्रा सञ्चित गर्ने सरकारहरू रेनमिन्वीतर्फ आकर्षित हुने धारणा राखेका छन् ।
चीनको दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) तथा ब्रिक्ससँगको संलग्नता तथा एसियाली विकास बैङ्कमा आरएमबीको उपयोग वृद्धि गर्न भएका प्रयासका कारण यसको उपयोग एसियाली मुलुकमा विस्तार हुने अपेक्षा विशेषज्ञहरूले गरेका छन् भने चीनमा ब्रिक्स विकास बैङ्क स्थापना भएपछिको अवस्था आएमबीका लागि अझै सरल हुने अनुमान गरिएको छ ।
अबाउट न्युजमा अमेरिकी आर्थिक विशेषज्ञ किम्बरली अमादेले चीनले सबैभन्दा शक्तिशाली अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिने पनि र युआन विश्व मुद्राको रूपमा स्थापना भए पनि त्यसले डलरको प्रभाव घटाउने तर हरियो नोट कहिल्यै धाराशायी भने नहुने बताउनुभएको छ । उहाँले अमेरिकी अर्थतन्त्रको प्रभावका कारण मात्र डलर विश्वको सञ्चिति मुद्रा भएको नभइ अमेरिकी वित्तीय बजारको पारदर्शीपना तथा मौद्रिक नीतिको स्थायित्वको कारण पनि भएकोमा जोड दिनुभएको छ । रासस (स्रोतः प्रमख अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)














प्रतिक्रिया