काठमाडौं, १६ जेठ । ग्लोबल आइएमई बैंक तथा आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालले टर्कीको अन्ताल्यामा आयोजित इस्तान्बुल प्रोग्राम अफ एक्सनको “विकासका लागि संकट तथा चुनौतिहरुमा आर्थिक श्रोतहरुको सदुपयोग” कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
अध्यक्ष ढकाललाई अति कम विकसित राष्ट्र«हरुबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि यही २९ मे २०१६ मा आयोजित विशेष समिक्षा कार्यक्रममा अतिथी वक्ताको रुपमा आमन्त्रित गरिएको थियो । यस अघी २६ मे २०१६ मा “अती कम विकसीत मुलुकहरुमा लगानिका अवसरहरु” शिर्षकको एक दिवसिय कार्यक्रममा पनि वहाँको सहभागीता रहेको थियो ।
अति कम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अति कम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने उदेश्यका साथ सन् २०११ मा टर्कीको इस्तानबुलमा बसेको संयुक्त राष्ट्र संघको चौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रीत थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, अति कम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न, राज्यकोषमा राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताउनुभयो ।
सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाल लगायत अन्य अति कम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हाँसिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताउनुभयो । वहाँले नेपाल जस्ता अती कम बिकसीत मुलुकहरुमा आर्थिक बिकासका लागि रेमिटेन्स तथा रेमिटेन्सबाट सिर्जित लगानिकोे निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उक्त एक दिवसीय विशेष समिक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदुतहरु लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।
















प्रतिक्रिया