काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले शनिबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटले नेपाली चलचित्र क्षेत्रलाई नसमेटेको भन्दै चलचित्रकर्मीले आक्रोश व्यक्त गरेका छन् ।
चलचित्रकर्मीले बजेट लोकप्रिय देखिए पनि कलाक्षेत्रका लागि निरासाजनक रहेको बताएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बजेट राम्रो रहे पनि चलचित्र क्षेत्रलाई छुटाएको भन्दै चिन्ता व्यक्त गरे । ‘यसपालिको बजेटमा चलचित्र क्षेत्रलाई कतै पनि समेटेको देखिएन’, अध्यक्ष राईले भने, ‘यो एकदम दुःखदायी कुरा हो । यो अनपेक्षित भयो ।’
चलचित्र विकास बोर्डले बक्स अफिस लागू गर्नका लागि निकै पहल गरेको अध्यक्ष राईले बताए । ‘सरकारले हाम्रो माग सम्बोधन गरेन’, उनले भने, ‘सञ्चारमन्त्री, सचिवज्यूहरूले पनि बजेटमा चलचित्र तथा कला क्षेत्रका लागि राम्रै व्यवस्था हुने बताउनुभएको थियो । हामी पनि त्यो आसमा थियौँ । तर, सरकारले सुनेन । यसमा दुःख लागेको छ ।’
संगीतकार शम्भुजित बास्कोटाले पनि सरकारी बजेटले कलाक्षेत्रलाई सम्बोन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘बजेटमा चलचित्र, कला, भाषा, संगीत, साहित्य क्षेत्रलाई सम्बोधन गरिएको छैन । यसमा अचम्म लाग्यो’, संगीतकार बास्कोटाले भने, ‘नेपाली कला–संस्कृति, चलचित्र, साहित्य, संगीत, नाट्यको माध्यमबाट संसारभर फैलिने गरेको छ ।’
सरकारले शनिबार पेश गरेको अधिकांश कलाकारले सुन्न नभ्याएको पनि बताएका छन् । उनीहरूले काममा व्यस्त रहेकाले सरकारको बजेट सुन्न नपाएको प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया