– शिशिर सिंखडा
चितवन, १५ जेठ । नेकपा एमालेका केन्द्रीय उप महासचिव घनश्याम भुसालले एमालेले ल्याएको बजेट सधै जनमुखी भएको बताएका छन् ।
सामाजिक सुरक्षा र कल्याणकारी राज्यको पक्षमा एमाले सधै रहेकोले सोही अनुसार बजेट ल्याउने गरेको उनले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य बिनोद रेग्मी, नयाँ शक्ति नेपाल जिल्ला संयोजक रमेश रेग्मी र दिनेश रेग्मीको ममतामयी माता यशोदा देवी रेग्मीको दशौं दिनको पूण्य तिथिमा आज शनिबार आयोजित कार्यक्रममा बोल्दै उप महासचिव भुसालले उत्पादनसँग जोडिने बजेटले मुलुकलाई सकारात्मक मोड तर्फ लाने भएकोले एमालेले त्यसतर्फ बजेट विनियोजन गर्ने गरेको बताए ।
नेकपा एमाले जिल्ला कमिटी चितवनद्वारा आयोजित कार्यक्रममा भुसालले सरकार परिवर्तनको सन्दर्भमा बाहिर आएको चर्चा अहिलेको आवश्यक विषय नभएको समेत टिप्पणी गरे । नेकपा एमाले वृद्धवृद्धाको सम्मान गर्ने पार्टी भएको बताउँदै भुसालले जिल्ला कमिटी सदस्य रेग्मी लगायत परिवारले आमा प्रति देखाएको व्यवहार समाजको लागि प्रसंशा योग्य रहेको बताए । ८२ वर्षे आमालाई जो कसैले पनि यसरी माया, स्नेह, उपचार गरेको कमै उदाहरण भएको भन्दै रेग्मी परिवारको प्रसंशा समेत गरे ।
स्मरण रहोस्, स्वर्गीय रेग्मी विगत एक वर्ष देखि मुटु, फोक्सो र पिसावको समस्याले थलिएकी थिइन् । एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य कृष्ण खनाल, जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, जिल्ला सचिव तेजेन्द्र बहादुर कुँवर, कालिका नगर कमिटी अध्यक्ष भीष्म प्रसाद खनाल, परिवारजनको तर्फबाट सुरेन्द्र नाथ रेग्मी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
स्वर्गीय रेग्मीको स्मृतिमा नयाँ शक्ति नेपाल चितवन, नेकपा एमाले वडा कमिटी कालिका वडा नं. ७, रेग्मी कुल सेवा समिति गोरखा, ग्लोबल भिजन मानव चेतनशील विकास संस्था, शिक्षक समाज नेपाल चितवन लगायतले श्रद्धाञ्जली कार्यक्रम गरेका थिए ।













प्रतिक्रिया