मुम्बई, १५ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफाएरमा गुजरात लाइन्सलाई चार विकेटले हराउँदै हैदरावाद उपाधि नजिक पुगेको हो ।
गुजरातले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । हैदरावादको जितमा कप्तान डेविड वार्नर नायक बने। उनले ८४ रन बनाउँदा पाँच विकेट गुमाएको टिमको पारी सम्हालेका थिए ।
वार्नरले ५८ बल खेल्दै नटआउट ९३ रन बनाए । उनले ११ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै बिपुल शर्माले नटआउट २७ रन बनाए । मोइसिस हेनरिक्सले ११ तथा नमन ओझाले १० रन बनाए ।
गुजरातका डवेन ब्राभो र शिविल कौशिकले दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका लागि एरोन फिन्चले ५०, ब्रेण्डम म्याकुलमले ३२ तथा दिनेश कार्तिकले २६ रन बनाएका थिए ।
हैदरावादका भुवनेश्वर कुमार र बेन कटिङले दुई/दुई विकेट लिए ।
गएरातिको हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पनि गुमायो । पहिलो क्वालिफाएरमा पराजित भएर गुजरात एलिमिनेटरको विजेता हैदरावादसँग दोस्रो क्वालिफाएर खेलेको थियो ।
पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफाएरको विजेता हैदरावादबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया