काठमाडौं, १५ जेठ । गत ७ चैतमा ज्ञानेश्वरस्थित एक ट्राभल तथा मनी ट्रान्सफर कम्पनीबाट चार लाख ४६ हजार रुपैयाँ चोरी भयो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो, तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्राभल्सका सञ्चालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरीसहित श्रीमती बेपत्ता भएको सुनाए ।
चोरीको घटनाले तनावमा रहेका मनी ट्रान्सफरका सञ्चालक छोरी र श्रीमती बेपत्ता भएपछि थप तनावमा थिए । प्रहरीले त्यसको पनि उजुरी दर्ता गर्यो र अनुसन्धान अगाडि बढायो ।
दिनहरू बित्दै गए न चोर फेला परे न छोरी र श्रीमती नै पत्ता लागे । तर, २ जेठमा मनी ट्रान्सफर सञ्चालक स्वयंले गौशालामा छोरीलाई देखे ।
पशुपति मन्दिर दर्शन गर्न जाँदै गर्दा गौशलामा रहेको एक पसलमा छोरी जुस किनिरहेकी थिइन् । हत्तपत्त छोरी भएको ठाउँमा पुगेर सोधे– तिमीहरू कहाँ थियौ ? ममी खोइ ? छोरीले ममी र आफू नजिकै एउटा घरमा केही अंकलहरूसँग बस्दै आएको बताइन् ।
चोरसँगै भेटिइन् श्रीमती
छोरीलाई अघि लगाएर उनी घरभित्र छिरे । श्रीमती त्यहीँ थिइन् । उनी त्यतिवेला झन् चकित भए, जतिवेला उनको कार्यालयमा चोरी गर्नेहरू पनि त्यहीँ थिए । तत्कालै प्रहरीलाई बोलाएर चोर र श्रीमतीलाई पक्राउ गराए । चोरीमा संलग्न तिनैजना राजकुमार केसी, ज्वाला केसी र दीपेन्द्र शाही त्यहीँ थिए । अनुसन्धानबाट खुल्यो– पैसा चोर्नेहरूले उनकी श्रीमतीलाई पनि भगाएका थिए । दैलेखका २२ वर्षीय हिम्मत भन्ने राजकुमार केसीले कार्यालयमा चोरी गरी श्रीमती पनि भगाएका थिए ।
पैसा झिक्न जाँदा चिनजान
केसी र सञ्चालककी श्रीमतीबीच केही महिनाअघि चिनजान भएको थियो । मनी ट्रान्सफरमा पैसा लिन जाँदा केसीले उनलाई भेटेका थिए । पटकपटक भेट भएपछि दुवैले मोबाइल नम्बर आदानप्रदान गरेका थिए । त्यसपछि भेटघाट बाक्लिएको थियो । मित्रता प्रेममा परिणत भएपछि भागेर उनीहरू करिब महिनादेखि गौशालामा सँगै बस्दै आएका थिए ।
रहर विदेशको, यात्रा जेलको
पक्राउ परेका तीनैजना विदेश जाने उद्देश्यले काठमाडौं आएका थिए । विदेश जान नसकेपछि ज्यामी काम गर्दै आएका थिए । त्यसक्रममा उनीहरू मनी ट्रान्सफरमा पटकपटक जाने गरेका थिए । त्यहाँ धेरै पैसा हुने ठानेर ढोका फुटाएर चोरी गरेको बयानका क्रममा उनीहरूले बताएको कमलपोखरी वृत्तका डिएसपी लोकेन्द्र श्रेष्ठले बताए ।
चोर भनेर चिनेपछि पनि प्रेम
चोरी गर्ने योजनाबारे मनी ट्रान्सफर सञ्चालककी श्रीमतीलाई भने थाहा थिएन । केसीसँग भागेर आइसकेपछि भने उनले उनीहरूले चोरी गरेको थाहा पाएकी थिइन् । तर, न श्रीमानलाई खबर गरिन्, न प्रहरीलाई नै ।















प्रतिक्रिया